निषेधाज्ञा उल्लंघन गर्ने धेरै [फोटोफिचर]
![निषेधाज्ञा उल्लंघन गर्ने धेरै [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/05/DSC_0169.jpg)
विराटनगर । कोभिड-१९ संक्रमण अत्याधिक बढेसँगै मोरङमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । तर, बजारमा आउजाउ गर्नेको संख्यामा भने कमि देखिँदैन ।
क्रमण दैनिक बढिरहेका बेला त्यसको रोकथाम तथा नियनत्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । कोभिड संक्रमणको उच्च दर रहेको विराटनगर महानगरपालिकासहित बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १,२, ३, र ४ तथा भारत र सुनसरी जिल्लासंग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाको चेन ब्रेक गर्ने भनेर गरिएको निषेधाज्ञाको प्रभाव आंशिक परेको देखिएको छ । निषधाज्ञाको पालना नागरिकले नगर्दां सडकमा खटिएका प्रहरीहरु तनावमा देखिन्थे । लकडाउनको पहिलो दिन भएको कारण निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले बुझाउँदै छाडेको छ । मोरङका एसपी सन्तोष खड्का नागरिकले लकडाउन मेरो लागि हो भनेर नबुझ्दासम्म प्रहरीले मात्र केही गर्न नसक्ने बताए ।
नागरिकको जीउज्यानको सुरक्षाको लागि सडकमा खटिएका प्रहरीले मात्र कार्यान्वयन नहुने भएकोले नागरिकले नै यसको कार्यान्वायनमा जोड दिनुपर्ने बताए । बिहानैदेखि उद्योग धन्दा कलकारखाना संचालनमा रहेका छन् । केही सिटी, अटो सडकमा निस्किएर नियम उल्लंघन गरेका छन् भने उनीहरुलाई प्रहरीले नियान्त्रणमा लिएको छ ।
निषेधाज्ञाको समयमा औषधी, खाद्यबस्तु तथा अत्याबश्यक वस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ । खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुध, डेरी लगायत अत्यावश्यक सामाग्री आपुर्ति गर्ने पसल, व्यवसायहरु बिहान १० बजेसम्म संचालन गर्न पाउने भएको कारण बिहान चहल पहल बढेको हुनसक्ने सुरक्षा अधिकारीहरुको भनाई छ ।
निषेधाज्ञाको अवधिमा गुद्री बजार, सब्जीमण्डी, होटल, रेष्टुरा, सैलुन, ई-रिक्सा संचालन भने गर्न पाउने छैनन् । निर्माण सामाग्री खरिदको हकमा भने बिहान १० बजेसम्म खरित गरिसक्न भनिएको छ । दैनिक रुपमा गरिने नित्य पुजा, प्रार्थनाबाहेकका धार्मिक तथा साँस्कृतिक कार्यहरु, मेला, जात्रा, चाडपर्व, हाट बजार, महोत्सव, भेला तथा अन्य सामूहिक कार्य गर्न रोक लगाईएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ ।
छिमेकी मुलुक भारतसँग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानून बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहने भनिएको छ ।















