सुनसरीमा शुक्रबार रातिदेखि निषेधाज्ञा, अत्यावश्यकबाहेक हिँडडुलमा रोक

विराटनगर । सुनसरीमा भोलि (शुक्रबार) देखि लागू हुनेगरी निशेधाज्ञा जारी गरिएको छ । बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले कोभिडको संक्रमण बढेको निष्कर्ष निकाल्दै शुक्रबार मध्यरातदेखि वैशाख २४ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।
संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ ।
खाद्य सामग्री, औषधी तथा स्वास्थ्य सामग्रीका पसल भने सञ्चालन गर्न पाइने बताइएको छ । विवाह‚ व्रतबन्धकाे हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्र भेला हुनेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
अत्यावश्यकलाई पास अनिवार्य
सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्ने बताइएको छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ । खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजतप्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने प्रजिअ ढकालले जानकारी दिए ।









