गोरखा भूकम्पको ६ वर्ष : असुरक्षित निर्माणले जोखिम बढाउँदै

काठमाडौं । आज वैशाख १२ गते । गोरखा भूकम्म्पको छैटौं वर्ष पूरा भएको दिन । सम्झिँदा पनि कहाली लाग्ने १२ वैशाख २०७२ को त्यो भूकम्प, जसबाट झण्डै ९ हजार नेपालीले मृत्युवरण गर्नु पर्यो । २१ हजारभन्दा बढी नेपाली घाइते भए । झण्डै ८ लाख घर तथा संरचनामा क्षति पुग्यो ।
धरहरा, सिंहदरबारलगायत ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, प्रशासनिक, धार्मिकलगायत कुनै यस्ता संरचना बाँकी रहेनन्, जसमा भूकम्पको चोट नदेखिएको होस् । नेपालकै परिचयको रुपमा उभिएको ऐतिहासिक स्तम्भ धरहरा ढल्दा ६० जनाले ज्यान गुमाए । नेपाललाई स्तब्ध पार्नेगरी गएको भूकम्पपछिका ६ वर्षमा, ढलेको नेपाल बिस्तारै उठ्न थालेको जस्तो देखिएको छ ।
तर, असुरक्षित निर्माण नरोकिँदा जोखिम भने घट्नुको साटो बढिरहेको छ । विज्ञहरु भन्छन्‚ ‘भूकम्पको जोखिम टरेको छैन, सरेको छ ।’ नेपालमा हरेक ८० देखि १०० वर्षको अन्तरमा ठूला भूकम्प आउने प्रवृत्ति देखिएको छ । यसले पनि जोखिमको समय सरेको अनुमान छ । बनेका सबै घर मापदण्डअनुसार बनेका छैनन् । खुला ठाउँ नै नराखी र गाडी नै जान नसक्ने गरी बनाइएका घरहरुका कारण भागदौड मच्चिएर हुने क्षतिमा जोखिम सरेको छ ।
घरलगायत भौतिक पूर्वाधारको आयु नतोकिँदा जोखिम
काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले डकर्मी र सिकर्मीको मात्र भरमा घर ठड्याउने परम्परा केही तोडिए पनि घरको आयु नतोकिनुले जोखिम बढाएको बताए । पुनःर्निमाण प्राधिकरणले मापदण्ड पालना गरेर भूकम्पमैत्री घर तथा संरचना नै निर्माण गरेकमले त्यति जोखिम नरहे पनि व्यक्तिले आम रुपमा गाउँगाउँमा बनाएका सबै घर भने भूकम्पमैत्री नभएको उनको भनाइ छ ।
‘अहिले डकर्मी सिकर्मीकै भरमा घर बनाउन कम भएको छ,’ मकालु खबरसँग उनले भने, ‘९/९ ईन्च मोटाइ र चौडाइको पिल्लर राखेर घर बनउने परम्परा तोकिएको छ । १२/१२ ईन्चको मोटाइ र चौडाइको पिल्लर नराखी नगरमा घरको नक्सा पास नै गर्न छोडेका छन् । तर, बनेका घरका आयु तोकिएका छैनन् । यसले जोखिम कम गरेको छैन । त्यस्तै व्यक्तिले देशका सबै ठाउँमा बनाएका सबै घर भूकम्पमैत्री छैनन् ।’
विकसित देशमा भवनलगायत पूर्वाधार निर्माण पूरा हुँदा नै उक्त पूर्वाधार प्रयोग गर्ने अवधि र आयु तोकिएको हुन्छ । आयु पुगेपछि त्यस्ता घर तथा पूर्वाधारलाई भत्काएर (डिस्पोज गरी) नयाँ बनाउने प्रचलन छ । तर, नेपालमा त्यस्तो प्रचलन नहुँदा जोखिम कम नभएको उनको भनाइ छ ।
‘२/३ सय वर्ष पुराना घर तथा संरचना पनि प्रयोग गरिरहेको तथा नढलेसम्म टालटुल गर्दै चलाइरहेको अवस्थामा जोखिम स्वभाविक रुपमै बढ्छ,’ इन्जिनियरसमेत रहेका तिवारीले भने, ‘अघिल्लो भूकम्पमा पनि पूराना घर बढी भत्किएका थिए । उपत्यकामा अग्ला भवन तथा पूर्वाधार नबनुन् भन्ने पनि प्राधिकरणको चाहना हो ।’
त्यस्तै, काठमाडौैं उपत्यकालगायत सहरी क्षेत्रमा मोटरबाटो नभएको ठाउँमा घर बनाउन नदिने, कित्ताकाट नै नगर्ने नियम कार्यान्वयन भइसकेको भए पनि पहिले नै कित्ताकाट भइसकेका र मोटरबाटो नभएका ठाउँमा पनि घर बनिरहेका छन् ।
‘खुला स्थानको अभाव भएका ठाउँमा भूकम्प आउँदा मानिसको भागदौडबाटै किचिएर मानिसको मृत्यु हुन सक्ने अवस्था आउने जोखिम छ,’ उनले भने ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का उपकार्यकारी निर्देशक रमेश गुरागाईं भन्छन्‚ ‘भूकम्पमैत्री तथा सुरक्षित घरलगायत पूर्वाधार निर्माणका लागि हामीले ५० ओटा नगरपालिकासँग मिलेर काम गरिरहेका छौं । हामीले काम गरेका ती नगरपालिकामा सुरक्षित घर बन्दैछन् । तर, तीबाहेक अन्य नगरपालिकामा पनि त घर त बनिररहेका छन् । तिनलाई सुरक्षित गर्न अन्य पक्ष वा सरोकारवाला पनि लाग्नुपर्ने अवस्था छ ।’
पुनःनिर्माण प्राधिकरणअन्तर्गत अनुदानमा बनेका घर तथा संरचनामात्र सुरक्षित भएर नपुग्ने र सबै घर सुरक्षित बनाउन सबै लागिपर्नुपर्ने उनको भनाइ छ । सुरक्षित स्थानमा एकीकृत बस्ती विकासका लागि सरकारले देशव्यापी रुपमा एकीकृत आवास योजना बनाएर लागू गर्नुपर्ने उनले बताए । ‘जोखिम भए पनि मानिस आर्थिक उपार्जन हुने ठाउँमा बस्नुपर्ने बाध्यता हुन्छ,’ गुरागाइँले भने, ‘त्यसो हुँदा जीविकोपार्जनको विकल्पसहितका सुरक्षित एकीकृत वस्ती निर्माणका लागि पूर्वाधार विकास गर्ने देशभरकै एकीकृत योजना ल्याउनु आवश्यक छ ।’
सुरक्षित आवासका लागि नगरपालिकाहरुले पनि मापदण्डको कार्यान्वयनमा कडाइका साथ अनुगमन नगरेकाले जोखिम कम नभएको प्रकोप पूर्व सञ्जाल नेपालका अध्यक्ष सुर्यबहादुर थापाले बताए । त्यस्तै, जोखिमपछिको आर्थिक भार कम गर्न घर बिमा गर्ने व्यवस्थालाई पनि व्यापक बनाउनुपर्ने उनले बताए ।
भूकम्पबाट बच्न कस्तो ठाउँमा बनाउने संरचना ?
अहिले बनेका घरलगायत भौतिक पूर्वाधार सबै भूकम्प प्रतिरोधी नभएको र निर्माणका बेला जमिनको अवस्थालाई बेवास्ता गर्ने कारणले पनि भूकम्पले पुर्याउने क्षति बढी हुने जोखिम कायमै रहेको भूगर्भविद् तारानिधि भट्टराई बताउँछन् ।
‘अहिले पुनःनिर्माण प्राधिकरणले बनाएका घर तथा पूर्वाधार नेपाल सरकारले तोकेको भूकम्पप्रतिरोधी मापदण्डअनुसार नै बनेका छन्,’ उनले भने, ‘तर‚ नेपाल सरकार र पुनःनिर्माण प्राधिकरणबाहेक व्यक्तिले बनाएका सबै घर भूकम्प प्रतिरोधी छैनन् ।’ सय वर्षपछि आउने अनुमानका साथ अहिले नै तयारी गर्न नचाहने बानी, भूकम्प प्रतिरोधी संरचना महंगो पर्ने भ्रम, प्रतिरोधी बनाउन जान्ने मानिसको अभावलगायत कारणले सर्वसाधारणले बनाएका सबै घर भूकम्प प्रतिरोधी नभएको उनको भनाइ छ ।
घरलगायत संरचना बनाउँदा माटोको अवस्थितिको कुरा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् ।
‘चट्टान भएको ठाउँमा कम र माटोमात्रै भएको ठाउँमा जमिन बढी हल्लिन्छ । यस्तै, नदीले थुपारेको माटोभन्दा पोखरीमा जमेको माटो बढी हल्लिन्छ ।’ भट्टराई भन्छन्‚ ‘थोरै हल्लिने ठाउँमा भवन बनाउने हो भने त्यति धेरै क्षति पुग्दैन ।’
काठमाडौं उपत्यकाको माटो पोखरीमा जम्मा भएको माटो हो भने तराई तथा दुन क्षेत्रको माटो नदीले थुपारेको माटो हो ।
इन्जिनियर, प्राविधिकको सल्लाह र रेखदेखमा घरलगायत संरचना बनाउँदा काठमाडौंकै माटोमा पनि बलियो संरचना निर्माण गर्न सकिने उनले बताए । ‘तर, इन्जिनियरको सल्लाह नलिई र रेखदेखबिनै घर बनाइयो भने चट्टान भएको ठाउँमै बनाए पनि क्षति बढी हुन्छ,’ उनले भने, ‘भूकम्प पनि कुन शक्तिको आयो, हामीले बनाएका संरचनाभन्दा नजिक वा टाढा, गहिराइबाट आयो, केन्द्रबिन्दु कहाँ पर्यो, कतिबेर हल्लियो, पहिला आउने र पछिल्लो पटक आउने तरंगको प्रकृतिजस्ता धेरै कुराले क्षतिको निर्धारण गर्छ ।’
त्यसो हुँदा माटो, चट्टान वा जमिनलाई दोष दिनुभन्दा आफू नै सचेत हुन भूकम्पबाट बच्ने उत्तम विकल्प भएको उनले बताए ।








