भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै रहेको बताइएको छ ।

दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र मृतकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको जानकारी दिएको छ ।

पछिल्लो विवरणअनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको परीक्षण गराएकामध्ये ३२.२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । तीमध्ये १.३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।

भारतमा देशभरी भने अहिले पनि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।

प्रतिक्रिया