सबा २ अर्ब राजस्व छलीको अभियोगमा १६ जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा अनिल गुप्ता एन्ड एशोसिएट्सका सञ्चालक अनिल गुप्तासहित १६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली वलि बनाई राजस्व छली गरेको अभियोगमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
काठमाडौं १४ कुलेश्वरमा रहेको अंकुश ट्रेडएन्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो सहित १३ फर्मले २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६ सय १४ रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर, आयकर लगायत राजस्व छली गरेको पाइएको विभागले जनाएको छ । उनीहरुले कर विजक बमोजिम रकम भुक्तानी लिई सरकारी कोषमा दाखिला नगरेको पाइएको जनाइएको छ ।
उनीहरुले अंकुश ट्रेड एण्ड सप्लायर्स, सन्ध्या ट्रेडर्स, लक्की ट्रेड, मुअन ट्रडिङ, दिव्या इन्टरप्राइजेज, निकी के ट्रेडर्स, एनकेडी ट्रेडर्स, जिएन ट्रेडर्स, सुवर्ण ट्रेड, सञ्जय इन्टरेनशनल, अंशु ट्रेड लिंक, कोमल ट्रेड लिंक, पिएनआर इन्टरप्राइजेज, आयान ट्रेड लिंकको नाममा राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।








