बसन्तले पाउने भए प्रतिष्ठित साहित्यक अवार्ड

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको जनाएको छ ।

विश्व काव्ययात्रामार्फत् नेपाली भाषा र साहित्यको विश्वमाझ प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ । चौधरीले पाउने पुरस्कार १ लाख रुपैयाँ राशिको भएको बताएको छ।

यसअघि नई प्रकाशनले वैशाख ३० गते काठमाडौंमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो ।

तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको बताएको छ ।

नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो । चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा अवार्ड वितरण गर्न थालिएको थियो ।

प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पंगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पूडासैनीलगायतले पाएका थिए ।

चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्ययात्रा विश्वभर चर्चित भएको थियो । सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उनको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो ।

प्रतिक्रिया