डा अधिकारीको ‘आखिर रोज्ने के’ लोकार्पण

काठमाडौं । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के ?’ लोकार्पण गरिएको छ । कोभिड–१९ को बढ्दो दोस्रो लहरका कारण पुस्तक भौतिक रूपमा सार्वजनिक नगरी टेलिभिजनमार्फत् लोकार्पण गरिएको हो । उद्यमी एवम् गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो र लेखकले मंगलबार संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

टेलिभिजनमा पुस्तक लोकार्पणका अवसरमा जीवन, जगत्, मानिसका इच्छाआकांक्षा, योग, ध्यान अनि यसको प्रभाव आदिका विषयमा साहित्यकार अमर न्यौपानेले लेखक अधिकारी र उद्यमी महतोसँग अन्तर्संवादसमेत गरे । उक्त अवसरमा लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठीक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने बताए ।

यसले मानिसलाई दुःखद अवस्थामा पुर्‍याउने उनको भनाइ छ । ‘आन्तरिक जीवन र बाह्य जीवनबीचको लडाइँ पनि मानिसको सबभन्दा ठूलो लडाइँ हो । त्यसलाई थोरै भए पनि समाधान दिने जमर्काे पुस्तकले गरेको छ,’ उनले भने ।

धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । ‘मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न,’ उनी भन्छन्‚ ‘धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न ।’ यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पनि पुस्तकमा महत्वका साथ सिकाउन खोजेको लेखक अधिकारीले बताए ।

यसअघि डा. अधिकारीका ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं, भोग पनि गरौं’, ‘तपाईंका लागि योग’, ‘यस्तो होस् जीवनशैली’ र ‘जिन्दगी, रिल्याक्स प्लिज !’ प्रकाशित छन् ।

प्रतिक्रिया