विराट गोल्डकप : उपाधिको लागि एपीएफ र पञ्जाव पुलिस भिड्दै

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबलको फाइनल खेल हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) र भारतको पञ्जाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल साँझ साढे ६ बजेदेखि हुनेछ ।
पाहुना टोली पञ्जाव पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ भने एपीएफ यो सिजनको तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । एपीएफले विभागीय चिरप्रतिद्धन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । एपीएफले क्वाटरफाइलमा प्रहरीलाई २-० ले र सेमिफाइनलमा विराटनगरलाई ३-२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको पञ्जावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २-०, गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४-२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व बिजेता टिम संकटा क्बललाई १-० हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।
एपीएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुगेको थियो । त्यसबेला संकटासँग १-० गोलले पराजित भयो । एपीएफले यो सिजनमा तीन वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । यसअघि महिना दिन अगाडी सम्पन्न चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ ।
गोलबजार गोल्डपमा फाइलनमा आयोजक टिमलाई ४-० गोलले हराउँदै एपीएफ च्याम्पियन भएको थियो । यस्तै यही सिजनमा जनकपुर गोल्डकपको उपाधि पनि हात पारेको छ । फाइनलमा विभागीय टिम नेपाल आर्मीलाई २-१ गोलले हराउँदै एपीएफले जनकपुर गोल्डकपको उपाधि हात जितेको हो ।
चैत २६ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले १५ लाख १५ हजार र उपबिजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।








