दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानले जित्यो सिरिज

काठमाडौं । पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टि-२० क्रिकेट सिरिजको शृंखला जितेको छ । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज ३-१ ले जितेको हो ।
शुक्रबार राति भएको अन्तिम खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पार्न सफल भयो । १४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले एक बल बाँकी छँदा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।
पाकिस्तानका लागि फखर जमानले ३४ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ६० रन बनाए । त्यस्तै, मोहम्मद रिजवानले अविजित २५ रन बनाउँदा कप्तान बाबर अजामले २४ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लिजाड लिलियम्स र सिसान्डा मागालाले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभर सकिन तीन बल बाँकी छदा सबै विकेटको क्षतिमा १४४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रासिई भन डेर डुसेनले ५२ र जानेमन मलानले ३३ रन बनाए । बलिङतर्फ पाकिस्तानका फाहिम अश्राफ र हसन अलीले समान ३-३ विकेट लिँदा हरिस राउफले दुई विकेट लिए ।








