नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड भोलिदेखि

काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

तेक्वान्दो बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा खेलाइने छ । छात्र/छात्रामा ३–३ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

छात्रमा ४५, ४८ र ५१ केजी तौलसमूहमा खेल हुनेछ । छात्रामा ४२, ४४ र ४६ केजीमा भिडन्त हुनेछ । विभिन्न २० विद्यालयका १ सय २० खेलाडीको सहभागिता रहनेछ ।

एथलेटिक्स शुक्रबार मुलपानीमा हुने छ । छात्र/छात्रामा ६–६ गरी १२ स्पर्धा राखिएको छ ।

छात्र/छात्रा दुवैमा १ सय, २ सय, ४ सय, ८ सय र १ हजार ५ सय मिटर दौड तथा ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । विभिन्न २० विद्यालयका १ सय ५० खेलाडी सहभागी हुनेछन् ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोटका रुपमा समेत रहेको छ ।

स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनौट हुनेछन् । प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया