टोटेनहमविरुद्ध म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
घरेलु टिम टोटेनहमविरुद्ध म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको हो । म्यानचेस्टर युनाइटेडका फ्रेड, इडिन्सन काभनी र मासन ग्रिनवोडले गोल गरे । टोटेनहमका सन हेयुङ मिनले गोल गरे । खेलको ४० औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफसम्म १-० गोलको अग्रता दिलाए ।
पहिलो हाफसम्म एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा तीन गोल गर्न सफल भयो। खेलको ५७ औं मिनेटमा फ्रेडले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७९ औं मिनेटमा काभनीले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले २-१ गोलको अग्रता बनायो । खेलको इन्जुरी समयमा मासनले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
प्रिमियर लिगमै भएका अन्य खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गर्दा लेस्टर सिटी वेष्ट हामसँग ३-२ गोलअन्तरले स्तब्ध बनेको छ ।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ७४ अंक छ । टोटेनहमलाई पराजित गरेको म्यानचेस्टर युनाइटेडको ३१ खेलबाट ६३ अंक छ । वेष्टहामसँग पराजित भएको लेस्टर सिटी तेस्रो स्थानमा यथावत रहेको छ । लेस्टरको ३१ खेलबाट ५६ अंक छ । लेस्टरलाई पराजित गरेको वेष्टहाम भने ३१ खेलबाट ५५ अंक बनाउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।








