एएफसी कपको प्लेअफ खेल्न आर्मी भारत प्रस्थान

काठमाडौं । नेपालको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप फुटबलको प्लेअफको खेल खेल्न भारत प्रस्थान गरेको छ । भारतको बैंगलुरु फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नका लागि आर्मी फुटबल क्लब आइतबार भारत प्रस्थान गरेको हो ।
आर्मी फुटबल क्लबले वैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग गोवास्थित जीएमसी रंगशालामा खेल्नेछ । आर्मी र बैंगलुरुबीचको विजेताले वैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्सले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्ने भएको छ । यी टिमबीचको विजेताले भारतको बैंगलुरु र नेपालको आर्मी फुटबल क्लबको विजेतासँग प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफको विजेताले एएफसी कपको समूह ‘डी’मा स्थान बनाउनेछ ।
आर्मी फुटबल क्लबले यसअघि दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै भारतको बैंग्लुरुसँग खेल्ने भएको हो । आर्मीका उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी फुटबल क्लब भारत प्रस्थान गरेको हो। तर नियमित सदस्य जर्जप्रिन्स कार्की र विकेश कुथु भने टिममा छैनन् । श्रीलंका पुलिसविरुद्धको खेलमा पनि यी दुबै खेलाडीले खेलेका थिएनन् ।








