राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट (बत्ती) हस्तान्तरण गरेको छ ।

बैंकले निर्माण गरेको ट्राफिक लाइट सुन्धारा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका- २१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २१ का अध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गइरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमार्फत् ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्ने बताए ।

कार्यक्रममा प्रहरी अधिकारीहरू, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया