उपाधिका लागि वारियर्स र राइडर्स खेल्ने

काठमाडौं । तेस्रो राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटको फाइनलमा बजाज खडक वारियर्स र रुपनी राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

विवेक यादवकाे कप्तानीमा रहेको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्स  लिगको फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएकाे प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वारियर्सले टिभिएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जितसँगै शीर्ष स्थानमा उक्लिदै वारियर्स फाइनलमा पुगेको हो ।

फाइनल शनिबार हुनेछ ।

राज रंगशालामा सम्पन्न खेलमा १८२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्स राजविराजले २० ओभरमा ७ विकेट क्षतिमा १५४ रनमात्र बनाउन सक्यो ।  किंग्सका रोबिन सिंहले अविजित ५१ रन बनाए । सुरज कुर्मीले ३६ रन, प्रशान्त सिंहले २४ रन तथा सोनु अन्सारीले १६ रन योगदान दिए । वारियर्सका गोमानन्द अमात्य, भुलावन सहानी र अनिल खरेलले २–२ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षतीमा १८१ रन बनाएको थियो । वारियर्सको लागि ओपनर अनिल शाहले सर्वाधिक ७० रन योगदान दिए । कप्तान विवेक यादवले ३७, निरज यादवले ३२ र पवन सर्राफले १८ रन योगदान दिए ।

किंग्स राजविराजको बलिङतर्फ रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया