एपीएफ सेमिफाइनलमा

काठमाडौं– सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता बन्दै एपिएफ सेमिफाइनल प्रवेश गरेको हो ।
इलामको ठूलो टुडिखेलमा बिहीबार भएको खेलमा एपिएफले दमक नगर भलिबल क्लबलाई ५–२१, २२–२५, २५–११ र २५–१९ ले हरायोे । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराएको थियो ।
समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
प्रतियोमिगतामा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई २५–२०, २२–२५, २३–२५, २५–१४ र १५–८ ले हराएको हो । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई पराजित गरेको थियो । यो जितसँगै आर्मी समूह ए बाट २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।
त्यस्तै, बिहीबार कै अर्को खेलमा विमान ट्रेडर्स विर्तामोर्डले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएको छ । विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ ले पराजित गरेको हो । भारतीय भलिबल टोलीका तीन खेलाडी सम्मिलित विमानविरुद्ध गण्डकीले जित भने निकाल्न सकेन ।
जिल्ला भलिबल संघ इलामको आयोजनामा चलिरहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ तथा दोस्रो हुनेले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।








