धनगढी एफसीको प्रशिक्षकमा नाइजेरियाका फुजा अनुबन्धित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीको नाइजेरियाका तोपे फुजालाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेकाे छ । राष्ट्रिय टिमका नियमित सदस्य विशाल राईलाई ‘मार्की’ खेलाडीको रुपमा अनुबन्ध गरेकाे धनगढीले बिहीबार फुजालाई प्रशिक्षकमा नियुक्त गरेकाे जानकारी दिएकाे हाे ।
फुजाकै प्रशिक्षणमा मनाङ मर्स्याङ्दी क्लबलाई २०७५ सालको शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो। उनी २०७६ मा पनि मनाङमै प्रशिक्षक थिए।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा करियर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लबबाट २००६ देखि सुरु गरेका थिए। त्यसपछि भारतमा सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हाले ।
फुजालाई अनुबन्धित गर्दै धनगढी एफसीको मालिक संस्था गो ड्रिमर्स प्रालीका प्रमुख सुवास शाहीले फुजाको प्रशिक्षणमा धनगढीले राम्रो प्रदर्शन गर्ने विश्वास लिए।
सम्झौतापछि फुजाले, महत्वपूर्ण जिम्मेवारी पाउँदा खुशी रहेको बताए। उनले भने, ‘क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु। हाम्रो लक्ष्य उपाधि जित्ने नै हो।’








