विभागीय टिम आर्मी र एपिएफको विजयी सुरुवात

काठमाडौं । दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
जिल्ला भलिबल संघ इलामको आयोजनामा ठुलो टुडिखेल मैदानमा समूह ‘ए’ को आर्मीले भारतीय राष्ट्रिय भलिबल खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गरेको छ । आर्मीले विर्तामोडलाई २५–१७, १८–२५, २५–१८, २१–२५ र १५–८ ले पराजित गर्न सफल भयो । समूह ‘ए’ कै दोस्रो खेलमा गण्डकी प्रदेशले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । गण्डकीले २६–२४, २५–२१, २५–२१ ले हराएको हो ।
त्यस्तै समूह ‘बी’ को पहिलो खेलमा एपिएफले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो । एपिएफले २६–२४, २५–२२, १८–२५. १६–२५ र १५–१० ले हराउँदै विजयी सुुरुवात गरेको हो ।
प्रतियोगिताको दोस्रो दिन अर्थात् बिहीबार आर्मी र गौराद, दोस्रो खेलमा एपिएफ र दमक तथा तेस्रो खेलमा विमान ट्रेडर्स र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता चैत ४ देखि ८ गतेसम्म हुनेछ । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद विकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।








