अन्योलमा अकोराबको अधिवेशन

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को अन्योलमा अधिवेशन अन्योलमा परेको छ । आजका लागि तय भएको अधिवेशन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

अधिवेशनको पूर्वसन्ध्यामा कार्यालयमै आएर संघका पदाधिकारीलाई धम्क्याएको र असुरक्षाको वातावरण सिर्जना भएकाले अधिवेशन स्थगित गरिएको अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशनमा सहभागी हुने आधिकारिक प्रतिनिधिको विषयमा सुरु भएको विवाद पनि उत्कर्षमा पुगेको जनाइएको छ । ‘अधिवेशन तथा साधारणसभा र निर्वाचनका सबै कार्यक्रम अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयबाट अधिवेशनमा आउनु भएका प्रतिनिधिमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्राथी छौं ।’

अधिवेशन स्थगित गरिएकोमा ध्यानाकर्षण
अधिवेशन स्थगन गरिएकोप्रति संघका निर्वतमान अध्यक्ष, सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, सचिव गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मध्यरातमा विज्ञप्ति जारी गगरी अधिवेशन स्थगित गर्ने दुष्प्रयास कुनै हालतमा पनि लोकतान्त्रिक समाजका लागि सह्य हुन नसक्ने उनीहरुको भनाई छ । ‘संस्थाको प्रतिष्ठामा आँच आउने गरि गरिएको यस प्रकारको अवैधानिक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशनको नियमित कार्यक्रम तोकिएकै मिति, समय र स्थानमा सुचारु हुने भएकोले उक्त स्थगनको भ्रममा नपर्न यसै विज्ञप्तिमार्फत सबै सदस्य रेडियो स्टेशनका प्रतिनिधिहरुलाई आह्वान गर्दछौं ।’

उक्त विज्ञप्ति संघका निर्वतमान अध्यक्ष मोहन चापागाईँ, सल्लाहकार किशोरजंग थापा वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष निमेश कर्ण, उपाध्यक्ष भुवन सिंह, सचिव वन्दना दनुवार, लेखा समिती संयोजक भुमिराज चापागाईँ, विज्ञ सदस्य रमेश जोशी, विज्ञ सदस्य सरोज पौडेल, लुम्बिनी प्रदेश अध्यक्ष केपी घिमिरे, प्रदेश २ अध्यक्ष अशोक दत्त, सुदूरपश्चिम प्रदेश अध्यक्ष दिर्घराज उपाध्याय, बाग्मती प्रदेश अध्यक्ष कृष्णहरि घिमिरे, गण्डकी प्रदेश अध्यक्ष शान्ति गुरुङ तथा सदस्य हरु मिलन गाहा मगर, बिष्णु अवस्थी, ध्रुवराज ढकाल, टिकाजंग थापा, उमेश सुनुवार, अजय यादव, सुक्रराज भण्डारी, राम भरोषी महतो र ललिता कुष्मीले संयुक्त रुपमा जारी गरेका हुन् ।

प्रतिक्रिया