अकोराबमा कांग्रेस निकट र ओली निकट संगठनबीच पद बाँडफाँड

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट प्रेस संगठन नेपाललगायत पाँचवटा संगठन मिलेर चुनाव लड्ने भएका छन् ।

फागुन २५ गते (भोली) हुने चुनावमा युनियन, संगठन, मिडिया नेपाल, प्रेस मञ्च र प्रगतिशिल पत्रकार सँघ मिलेर उम्मेद्वारी दिने सहमति गरेका हुन् । जसअनुसार अध्यक्ष र महासचिव र जनजाती उपाध्यक्ष युनियनले पाएको छ भने वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष ओली निकट संगठनले पाएको छ ।

पत्रकार र सञ्चार सम्बद्ध संस्थालाई साझा चरित्रको बनाउन प्रेस युनियनको नेतृत्वमा सबै संगठनलाई समेटेर अघि बढ्ने अभियानअन्तर्गत सहमति गरिएको र बाँकी रहेका संगठनहरुलाई पनि समेट्ने प्रयास भइरहेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले मकालु खबरसँग बताए ।

‘प्रचण्ड–नेपाल पक्षका साथीहरुसँग पनि अझै छलफल चलिरहेको छ, उहाँहरूसँग पनि सहमति गरेर नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास जारी छ‚’ अध्यक्ष सिग्देलले भने ।

सहमति पत्रमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेत प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, प्रगतिशील पत्रकार मञ्च नेपालका अध्यक्ष उदय जीएम र मिडिया नेपालका गोपाल पौडेलले हस्ताक्षर गरेका छन् ।

अकोराबको महाधिवेशन भोली काठमाडौंमा सुरु हुँदैछ । नयाँ नेतृत्वका लागि झण्डै साढे तीन सय सामुदायिक रेडियोका प्रतिनिधिले मतदान गर्नेछन् ।

No description available.

प्रतिक्रिया