मेयर कप क्रिकेटः आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा काठमाडौं मेयर एघार टिमले बागमती प्रदेशसँग खेल्नेछ ।

त्रिवी क्रिकेट मैदानमा एपिएफ क्लब र पुलिसबीचको खेल बिहान ८ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको एपिएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यता, पुलिसले पनि बागमती प्रदेशलाई पहिलो खेलमा दुई रनले पराजित गरेको थियो ।

शरद भेषावकरको कप्तानीमा रहेको एपिएफ एक सन्तुलित टिम हो । आर्मीविरुद्धको खेलमा छैटौं नम्बरमा आएका सुमित महर्जन, आठौं नम्बरमा आएका बसन्त रेग्मी र नवौं नम्बरमा आएका अमरसिंह रौटेलाले उत्कृष्ट ब्याटिङ गर्दै एपिएफलाई जित दिलाएका थिए। पुलिस पनि राम्रो टिम हो । आफ्नो पहिलो खेलमा ७२ रनमा अलआउट भएपनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमती प्रदेशलाई पुलिसले दुई रनले हराएको थियो ।

यता, बागमती प्रदेश भने आफ्नो दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । काठमाडौं मेयर एघार टिमको भने पहिलो खेल हो। सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं एघारमा युवा खेलाडीको टिम हो ।

प्रतिक्रिया