‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले पहिलो ब्याटल जितिसकेको बताएका छन् । शनिबार राजधानीमा आयोजित शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

यसैबीच अध्यक्ष दाहालले आफू निकट शिक्षकहरुलाई सत्य र न्यायको पक्षमा बोलिदिनसमेत आग्रह गरेका छन् । ‘उहाँहरुले प्रचण्डमाथिको प्रहार तीव्र पार्नुभयो,’ अध्यक्ष दाहालले सम्बोधनका क्रममा भनेका छन्, ‘तपाईँहरुले सत्य र न्यायको झण्डा बोकिदिनुपर्यो ।’ केपी शर्मा ओलीसँग बेइमानीबाहेक कुनै क्षमता नभएको अभिव्यक्ति दिएका अध्यक्ष दाहालले भनेका छन्, ‘ओलीसँग कुनै क्षमता छैन । उनको मन पर्ने पात्र भनेको शकुनी हो । बेइमानी छलकपटबाहेक केही क्षमता छैन उनमा । जेलमा चाणक्य नीतिबाहेक केही पढेनछन् । शकुनी उनलाई धेरै मन पर्छ । त्यसैले शकुनीको भूमिकामा छन् उनी ।’

यसैबीच अध्यक्ष दाहालले ओलीमाथि शिक्षकहरुलाई संगठित हुन नदिएको आरोप लगाए । ‘एकता हुन नदिएको केपीले हो, शिक्षकहरुलाई । शिक्षकहरुलाई राजनीतिमा ल्याउन हुँदैन भन्ने केपी नै हुन् । शिक्षकलाई संगठित गर्न हुँदैन भन्नेमा धेरै ठूलो लडाइँ भएको छ,’ अध्यक्ष दाहालले भनेका छन् ।

छुट्टै प्रसंगमा अध्यक्ष दाहालले जनताको बहुदलीय जनवाद (जबज) छाडने पहिलो एमाले नेता नै ओली भएको बताए । आफूसँग त्यसको राजनीतिक प्रमाण भएकोसमेत अध्यक्ष दाहालको जिकीर छ । ‘जबजलाई ड्रप गर्ने पहिलो एमालेको नेता कोही हो भने खड्ग प्रसाद ओली हो,’ अध्यक्ष दाहालले भने, ‘त्यसको प्रमाण मसँग छ । राजनीतिक दस्तावेजहरु छन् ।’

प्रतिक्रिया