दुई भारतीयको सगरमाथा आरोहण प्रमाणपत्र रद्द

काठमाडौं । भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले झुटा विवरण पेश गरी लिएको सगरमाथा आरोहण गरेको प्रमाण पत्र रद्द भएको छ । सन् २०१६ को वसन्त ऋतुमा सगरमाथा आरोहण गरेको भनी झुटो विवरण पेश गरी पर्वतारोहण प्रमाणपत्र लिएको देखिएकोले उनीहरुको प्रमाणपत्र रद्द गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम सगरमाथा आरोहण गरेको भनिएको मिति २०१६ को मे २० देखि ६ वर्षसम्म पर्वतारोहणमा रोक लगाउने मन्त्रालय निर्णय गरेको छ ।

त्यस्तै, उनीहरुलाई आरोहण गराउने दलका नेता भनिएका भारतीय नागरिक नवकुमार फुकोनलाई समेत सोही मितिदेखि ६ वर्षसम्म पर्वतारोहणमा प्रतिवन्ध लगाउने मन्त्रालयले निर्णय गरेको छ ।

त्यस्तै, आरोहणको प्रबन्ध मिलाउने संस्था सेभेन समिट ट्रेक्स प्रालिलाई ५० हजार जरिवाना गर्ने, सम्पर्क अधिकृतका रुपमा खटिएका पवन कुमार घिमिरलेलाई निजामति सेवा ऐन अनुसार चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ।

सिंह र रानी दुई भारतीय नागरिकले सगरमाथा आरोहण गरेका हुन् भनी झु्टा कागज बनाइदिने क्लाइम्बिङ सहयोगी ङा दावा शेर्पालाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय समेत भएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया