आगो ताप्दा जलेर १०१ वर्षीयाको मृत्यु

खोटाङ । आगो ताप्नेक्रममा जलेर गम्भीर घाइते भएकी खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।

गाईवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।

हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । हिमादेवी खोटेहाङ गाउँपालिकाभरिकै ज्येष्ठ नागरिक हुन् ।

बोल्न नसक्ने हिमादेवीकाे लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि उद्धार गरिएकाे थियाे ।

प्रतिक्रिया