प्रहरी महानिरीक्षक थापाद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रीस्तरको माघ ९ गतेको निर्णय अनुसार २०७७ माघ ८ गतेबाट लागू हुनेगरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच महानिरीक्षक थापाले  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा प्राप्त गर्नेमा प्रहरी वरिष्ठ उपरीक्षकहरूमा कृष्ण कुमार महत, गोबिन्द कुमार शाह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्र बहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोखरेल रहेका छन् । सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बधाई तथा सफल कार्यकालको सुभेच्छा प्रदान गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्नुपर्ने बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौति व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा अझै बढी सुधार ल्याउन पहल गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कानुन भन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौतिको सामना गर्न जिम्मेवारीपूर्वक अत्यन्त सहिष्णु भई काम गर्नुपर्ने बताए । कोभिड-१९ का कारण उत्पन्न आर्थिक अवस्थाको कारण वित्तिय व्यवस्थापनमा मितव्ययिता अपनाउनुपर्नेमा उनले जाेड दिए ।

प्रतिक्रिया