एमबीबीएसको शुल्क आठ लाख बढाउन सिफारिस

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०७७/७८ का लागि एमबीबीएसको शुल्क झण्डै आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ । आयोगको शुल्क निर्धारण कार्यदलले अहिले ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको एमबीबीएसको शुल्क बढाएर ४८ लाख रुपैयाँ पुर्याउन सिफारिस गरेको हो ।

शनिबार बसेको आयोगको पाँचौं बैठकमा सिफारिस समितिले शुल्क बढाउन प्रस्ताव राखेको शिक्षा मन्त्रालयलेजनाएको छ ।
समितिले विभिन्न कारण देखाउँदै बीडीएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रोबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

बैठकमा यो विषयमा कुनै निर्णय भने हुन सकेन ।

बैठकले निर्णय गर्न नसकेपछि शुल्क निर्धारण गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा स्वाथ्यमन्त्री हृदयेश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य(शिक्षा) डा. उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहनेगरि समिति गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको आपत्ति
बैठकमा सहभागि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् ।कोभिडले थला परेको अवस्थामा शुल्क बढाउँदा नकरात्मक असर पर्ने भएकोले शुुल्क बढाउनु उचित नहुने र गत बर्षकै शुल्क कायम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । अब, शिक्षा मन्त्रीको संयोजकत्वमा गठित कार्यदलको सिफारिसमा नयाँ शुल्क तय गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया