२५ वटा सामुदायिक विद्यालयमा आविष्कार क्लब सञ्चालन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ ।

महानगरको सहरी योजना आयोगले पहिलो चरणमा छनौट गरिएका विद्यालयसँग सम्झौता गरेको छ । हिजो राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रधानाध्यापकहरुलाई सम्झौता पत्र प्रदान गरे । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौताबमोजिम विद्यालयलाई दिइने १ लाख रुपैयाँ अनुदान रकममध्येको ८५ प्रतिशत रकम उल्लेख गरिएको चेक प्रदान गरे ।

प्रयोगात्मक र सहभागितामुलक सिकाइ पद्धतिबाट विद्यार्थीमा विज्ञान तथा प्रविधिका बारेमा जिज्ञासु बनाउन, व्यक्तिगत अभिरुचिको विकास र प्रयोगका लागि मञ्च उपलब्ध गराउन, आविष्कारमुलक सिकाइको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम थालिएको हो ।

सम्झौता र चेक प्रदान गरिसकेपछि प्रतिक्रिया दिँदै महानगरपालिकाका मेयर शाक्यले नयाँ सोचका साथ ल्याइएको कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरे ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार यस कार्यक्रममा कक्षा ५ देखि ९ सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् । पाठ्यक्रममा समावेश भएका विषयलाई रुची अनुसार एकल वा सामुहिक सिकाइ प्रवर्द्धनमा कार्यक्रमको योगदान रहनेछ । उनी भन्छन्- ‘असार मसान्तभित्र हामी सहभागी विद्यार्थीलाई कुनै एक समस्या दिएर रचनात्मक समाधान गर्ने आविष्कार मेलाको आयोजना गर्छौं । त्यहाँ सिकेको ज्ञान र सीपको प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्र्धाबाट कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन हुनेछ । यसबाट प्राप्त नजिताबाट आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजना तय हुनेछ ।’ मेलामा समस्याको उत्तम समाधान निकाल्ने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने छ ।

कार्यक्रमका लागि शिवपुरी माध्यमिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरिएको छ । विज्ञान शिक्षकविच कार्यशाला वा भेला गराउने, विद्यालयहरुका बिच समन्वय गर्ने, कार्यक्रमको अनुगमन गर्ने, प्रतिवेदन लेखनमा सहजीकरण गर्ने जस्ता काम हब विद्यालयले गर्नेछ । यसका लागि थप १ लाख रुपैयाँ अनुदान दिइएको छ ।

सहरी योजना आयोगको सचिवालय प्रमुख डिल्लीराम बास्तोलाकाअनुसार छनौटमा परेका विद्यालयलाई अहिले ८५ हजार रुपैयाँ अनुदान दिइएको छ । क्लव गठन गरेर सिकाइका कार्यक्रम अघि बढाएपछि विद्यालयबाट पेश हुने प्रतिवेदन प्राप्त भएपछि थप १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

अहिले छनौटमा परेका विद्यालयहरुमा शिवपुरी माध्यमिक विद्यालय, बाँसवासी माध्यमिक विद्यालय, धुम्रबराह माध्यमिक विद्यालय, टंगाल माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, गुह्येश्वरी माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, विश्व निकेतन माध्यमिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यमिक विद्यालय रहेका छन् ।

यस्तै जनप्रभात माध्यमिक विद्यालय, नील बाराही माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय, गीतामाता माध्यमिक विद्यालय, सिद्धि गणेश माध्यमिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय,
परोपकार आदर्श माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, प्रभाव माध्यमिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, भीमसेनगोला माध्यमिक विद्यालय र कोटेश्वर सरस्वती माध्यमिक विद्यालय पनि छनाैटमा परेका छन् ।

प्रतिक्रिया