खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न माग, आयोजना ल्याएवापत घुस खाएको आरोप

भरतराज शर्मा (गोपला)-

सुनसरी । धरानस्थित खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिले माग गरेको छ । समितिले धरानमा खानेपानी आयोजना ल्याएबापत पैसा खाएको आरोप लगाउँदै खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न माग गरेको हो । समितिले खानेपानी आयोजना असफल भइसकेको दाबी पनि गरेको छ ।

संघर्ष समितिले आज सोमबार संस्थान परिसरमा नै पत्रकार सम्मेलन गर्दै आयोजनालाई नै संस्थानको जिम्मा दिएर पानी आपूर्ति र वितरण सहज बनाउन नयाँ प्रस्ताव गरेको छ ।

संघर्ष समितिका संयोजक हर्क साम्पाङले भविष्यमा थप ऋण लिएर नयाँ प्रोजेक्ट सञ्चालन गर्नुभन्दा अहिले नै असफल भएको आयोजनालाई संस्थानको जिम्मा दिनु उचित हुने बताएका छन् ।

उनले भने ‘आयोजना नै खानेपानी संस्थानलाई जिम्मा दिएर यो धरानले लिएको ऋण नेपाल सरकारले तिर्नुपर्छ, धरान पनि नेपाल बाहिरको भूभाग हो, त्यसैले पनि संघीय सरकारले ऋण पनि जिम्मा लिनुपर्छ, असफल भएको आयोजना पनि जिम्मा लिनुपर्छ भने ।’

पत्रकार सम्मेलनमा सबै हस्ताक्षरकर्ता १९ जनालाई नै आमन्त्रण गरे पनि एकराज कोइराला बाहेक कोही पनि नआएको बताएका थिए भने सहमति भएको ११ बुँदा अनुसार कुनै पनि कार्यान्वयन नभएको संघर्ष समितिको दाबी छ ।

त्यस्तै साम्पाङले आफूहरुले ५ बुँदा माग अघि सारे पनि पुरा नगरेको बताएका छन् । यस्तै, सहमतिमा उल्लेख भएअनुसार १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भएको नापेर देखाउनु पर्ने, आयोजनमा खर्च भएको कति हो ? के मा खर्च भएको हो भनेर लेखा परीक्षण गरेर सार्वजनिक गर्नुपर्ने माग रहेको पनि उनले बताएका छन् ।

एडीबीबाट ठुलो ऋण लिएर आयोजना सञ्चालन गर्नु हुँदैन भनेर आन्दोलनरत संघर्ष समितिसँग उपमहानगरपालिका र सर्वपक्षीय छलफल भएर २०७१ कार्तिक २२ गते राति ११ बुँदामा सहमति भएको थियो । आन्दोलन अवतरण भएको थियो । तर पनि हाल धरानको खाने पानि आयोजनाको विषयमा विवाद चलिरहेको छ ।

प्रतिक्रिया