गृहमन्त्रीमाथि राजीनामा दिनुपर्ने दबाब

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि मन्त्री पदबाट राजीनामा दिनुपर्ने दबाब परेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटार आउने निम्तोलाई अस्वीकार गर्दै आफ्नो पूर्वसमूहको भेलामा जुटेका बादलमाथि राजीनामाको दबाब परेको हो ।

उनीनिकटका नेताहरु पम्फा भूसाल, देव गुरुङलगायतका नेताहरुले मध्यमार्गी भएर नबस्ने बताउँदै उनलाई मन्त्री पदबाट राजीनामा दिन दबाब दिएका हुन् । ‘ओलीलाई साथ दिन सकिँदैन । यो प्रतिगामी कदम हो । संवैधानिक कू पनि हो’, गुरुङले भनेका छन्, ‘यो बीचमा बस्ने मध्यमार्गी कुरा हुँदैन । कि सत्य हुन्छ कि गलत हुन्छ बीचमा नबसौँ भनेर हामीले भन्यौँ ।’

यसअघि हिजै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

पूर्वमाओवादीका नेताद्वय बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् । राजीनामा नदिएपछि ओलीकै कित्तामा उभिएको भनिएका बादल भने ओलीले आज बालुवाटारमा बोलाएको भेलामा गएनन् । यता भट्ट भने बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया