मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

राष्ट्रपतिद्वारा संसद विघटन, बैशाख १७ र २७ गते आमनिर्वाचन
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी हुन् । यस्तै आउँदो बैशाख १७ र २७ गते आम निर्वाचनको मिमीसमेत तोकिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम संसद विघटनको घोषणा गरेकी हुन् ।
संसद विघटनपछि प्रचण्डलाई ओलीले भने- मिलेर चुनावमा जाऔँ, जितेर आऊँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गरेका छन् । अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीसँग भएको संवादबारे ब्रिफिङ सुनाउँदै त्यस्तो जानकारी दिएका हुन् ।
मन्त्रिपरिषदबाट विघटनको सिफारिस भएको जानकारी पाएलगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
ब्रिफिङ सुनाउँदै उनले भने, ‘म विघटनको जानकारी पाएपछि बालुवाटार पुगेको थिएँ । उहाँले विघटन गर्ने त मैले निर्णय गरिसकेँ, जे हुनु भइहाल्यो, अब मिलेर चुनावमा जाऔँ, एकताबद्ध भएर लडौँ, जितेर आऔँ भन्ने प्रस्ताव पो गर्नुभो, तपाईंले मिल्ने काम गर्नुभएको छ र सँगै मिलेर चुनावमा जाने ? अनि कसरी एकताबद्ध भएर जितेर आउने कुरा हुन्छ ? यत्रो च्यालेन्ज गर्ने जति काम गरिसकेपछि तपाईंले त्यस्तो प्रस्ताव गर्ने ?’
आजका स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्नका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजानेसहितको दुईबुँदे प्रस्ताव पारित गरेको थियो ।
नेकपा स्थायी कमिटी बैठकको निर्णय– ‘केपी ओलीलाई अनुशासनको कारबाही’
नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
ओलीले आइतबार नै संसद विघटन गरिसकेका छन् भने आम चुनाव आगामी १७ र २७ बैशाखमा गर्ने मिती तय भएको छ ।
यस्तै १० गते बोलाइएको पार्टीको केन्द्रीय कमिटी बैठक ७ गते बस्ने भएको छ । अबेरगरी शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु अनुपस्थित थिए ।
नेकपासहित तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने
काठमाडौं । नेकपासहित तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन्।
कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए । यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल थिए भने जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।
संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको बैठकको निष्कर्ष छ ।
नेकपा प्रवक्ता श्रेष्ठले यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको जानकारी दिए ।
सात मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भूसाल, योगेशकुमार भट्टराई, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव र विना मगर छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
यद्यपि पचण्डनिकटका मन्त्रीद्वय रामबहादु थापा ‘बादल’ र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । उनीहरु पछिल्लो समय प्रधानमन्त्री ओलीको कित्तामा उभिँदै आएका छन् ।
पूर्वसभामुख महरा स्थायी कमिटी सदस्य बन्ने
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा स्थायी कमिटी सदस्य बन्ने भएका छन् ।
आइतबार अपराह्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आजको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आगामी ७ गते केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् भने भोलि दिउँसो बालुवाटारमा पुनः स्थायी कमिटीको बैठक बस्दैछ ।
महरामाथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका थिए ।
अख्तियारमा प्रेम राईसहित ४५ जनाको नियुक्ति सिफारिस
काठमाडौं । प्रतिनिधि सभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णय बाहिरिएको छ । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको हो ।
संसदीय सुनुवाइका लागि उनीहरुको नाम पठाइएको पाइएको हो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाइ हुँदैन । ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
यसअघि ओलीले परिषद्सम्बन्धी ओलीले अध्यादेश जारी गरेका थिए । गत १ पुषमा बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई उक्त अध्यादेश फिर्ता लिन निर्देशन दिएको थियो ।
ओलीले आफूले फिर्ता लिनेनै भन्दै आएको भए पनि अहिलेसम्म उक्त अध्यादेश फिर्ता भएको छैन ।
दलित आयोगमा सिफारिस रम्तेलले गरे पद अस्वीकार
काठमाडौं । संवैधानिक परिषदद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस परशुराम रम्तेलले आफू सिफारिस पद अस्वीकार गरेको घोषणा गरेका छन् ।
आइतबार उनले फेसबुकमार्फत संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी दलित आयोगमा आफ्नो सहमतिविना सिफारिस गरिएको उल्लेख गरेका हुन्।
उनले भनेका छन्, ‘मेरो सहमतिविना मेरो नाम सिफारिस गरिएको छ, सहमतिविपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु ।’
रम्तेल पहिलो संविधानसभा सदस्य हुन् ।
सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका शाक्य विजयी
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । शाक्य २९५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत पाए ।
वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् भने महिला सदस्यमा अमिता गौतम पौडल विजयी भएका छिन् ।
यसैगरी सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् ।
आर्सनललाई हराउदै एभर्टन दोस्रो स्थानमा, म्यानचेस्टर सिटीको पनि जित
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले आर्सनललाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा यारी मिनाले एक गोल गरेका थिए भने एक गोल आर्सनलका रोब होल्डीङले आत्मघाती गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल निकोलस पेपेले पेनाल्टीमार्फत गरेका थिए ।
यो जितपछि आर्सनल १४ खेलमा २६ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने १४ खेलमा १४ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।








