प्रधानमन्त्री कपका लागि प्रदेशस्तरीय खेलाडी छनोट सुरु

भद्रपुर । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि झापामा प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)मा आवद्ध प्रदेश १ का १४ वटा जिल्लामध्ये झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर गरी पाँच वटा टिमले भाग लिएका छन्। ती जिल्लाबाट महिला र पुरुष गरी १० वटा टिम रहेका छन्। सोही टिमबाट महिला र पुरुष खेलाडी छनोट गरी प्रदेश १ स्तरीय टिम गठन गरिने झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापाले जानकारी दिए।
छनोट प्रतियोगिता शुक्रबार देखि भद्रपुर नगरपालिकाको मेची रंगशाला, कनकाई नगरपालिकाको सुरुङ्गा र मेचीनगर नगरपालिकाको काँकडभिट्टामा एकैसाथ सञ्चालन भइरहेको छ।
क्यानले पुस ११ देखि काठमाडौंमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता गर्न लागेको छ। प्रदेशस्तरीय खेलमा छनोट भएका खेलाडीहरू प्रदेश १ को टिमबाट सोझै प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता हुने पाउने व्यवस्था रहेको प्रदेशका मुख्य चयनकर्ता लाक्पा लामाले जानकारी दिए। प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका गरी १० टिमको सहभागिता रहने छ।








