कांग्रेसको ठहर–‘फिर्ता लिइसकेको अध्यादेश पुनः जारी गर्नु राष्ट्रपतिको कमजोरी’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । राष्ट्रपतिको भूमिकामाथि पहिले पनि प्रश्न उठ्दै नै आएको भए पनि खासगरी कांग्रेसले भने पछिल्लो पटक जारी अध्यादेशको विषयलाई लिएर प्रश्न उठाएको हो ।

शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकले सोबारे प्रश्न उठाएको हो । बैठकले एक पटक फिर्ता भएको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश आउनासाथ जारी गर्नु संविधानको भावना र मर्मविपरीत भएको ठहर गरेको सांसद तथा कांग्रेस नेतृ पुष्प भुसालले जानकारी दिइन् । ‘फिर्ता लिइसकेको अध्यादेश फेरि लाँदा राष्ट्रपतिले त्यति चाँडो जारी गरिहाल्नुपर्ने कुरा आपत्तिजनक कुरा हो । यो उहाँ (राष्ट्रपति)को कमजोरी हो’, बैठकपछि मकालु खबरसँग कुराकानी गर्दै भुसालले भनेकी छन्, ‘संविधानलाई मान्ने, त्यसको रक्षा गर्नेजस्ता कामहरु राष्ट्रपतिबाट हुनैपर्छ ।’

सरकारले यसअघि गत ८ बैशाखमा पनि सोही अध्यादेश (संवैधानिक परिषद्सम्बन्धी) ल्याएको थियो । तर, पार्टीभित्रै चर्को दबाब झेल्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि फिर्ता लिएका थिए ।

यसैगरी कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन, उखु किसानहरुको बाँकी बक्यौता रकम समयमै दिनलगायतका मागसमेत गरेको छ ।

प्रतिक्रिया