अमेरिकामा कोरोना विरुद्धको पहिलो खोप नर्सलाई,१० करोडलाई खोप दिने तयारी !

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएसँगै त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्ख्या तीन लाख नाघेको छ । अधिकारीहरूले आउँदो एप्रिल महिनासम्म १० करोडजना मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन् ।

अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स भएकी छन् । ती नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गरेकी छन् ।

‘अन्य कुनै खोप लगाए जस्तै भयो। खोप सुरक्षित छ भनेर आममानिसमा आत्मविश्वास होस् भन्ने म चाहन्छु । हामी महामारीका माझमा छौं र हामी सबैले आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ,’ उनले भनिन् । उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो वर्षको सुरुमा कोरोनाभाइरस महामारीको पहिलो लहरको केन्द्रविन्दुमा न्यूयोर्क परेको थियो । खोप कार्यक्रम न्यूयोर्कबाट सुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्वीट गर्दै लेखेका छन्, ‘पहिलो खोप दिइयो । अमेरिकालाई बधाई! विश्वलाई बधाई !

मृतकको सङ्ख्या बढ्दो
फाइजर-बायोएनटेकको झन्डै तीस लाख खोपहरू अमेरिकाभर बितरण गर्न लागिएको छ । त्यहाँका झण्डै १ सय ५० वटा अस्पतालहरूले सोमवारसम्ममा खोप पाइसकेको ठानिएको छ । फाइजर-बायोएनटेक खोपले गत शुक्रवार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति पाएको थियो ।

देशमा महामारीको असर जारी रहँदा खोप दिन सुरु गरिएको हो । नोभेम्बर यता मृत्यु हुनेहरूको सङ्ख्या पनि अमेरिकामा बढिरहेको छ । अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि एकदमै बढेको छ । कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अहिले एक लाख ९० हजारभन्दा बढी मानिसहरू अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित हुने देशको सूचीमा अमेरिका सबैभन्दा माथि छ । –बीबीसी

प्रतिक्रिया