आजको स्थायी कमिटी बैठक : शोक प्रस्ताव पारित गरेर स्थगित हुने सम्भावना

काठमाडौं । आजको नेकपा स्थायी कमिटी बैठकमा कार्यसूचीमाथि थप छलफल नहुने भएको छ ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितका अनुसार आजको बैठकमा नेकपा नेता एवम् पूर्व राजदूत कमानसिंह लामाको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने सम्भावना उच्च छ । पण्डितले मकालु खबरसँगको संक्षिप्त कुराकानीको क्रममा भनेका छन्, ‘कार्यसूचीमाथि छलफल हुने सम्भावना कम छ । शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुन सक्छ ।’ नेता लामाको कोरोना संक्रमणबाट गत २५ मंसिरमा अस्पताल भर्ना भएको १६ दिनपछि निधन भएको थियो ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि संयुक्त रुपमा छलफल गर्ने कार्यसूची थियो । यसअघि गत २१ गते शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा ४३ जनै सदस्यहरुलाई दुवै प्रस्ताव बाँडिएको थियो ।

आजको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने भन्दै बालुवाटारमै राखिने भएको छ । बैठक दिउँसो १ बजे शुरु हुँदैछ ।

प्रतिक्रिया