शिक्षक हत्या प्रकरण : स्थानीय भन्छन्–‘६ जनाकाे समूहले पाता फर्काएर लगेका थिए’

काठमाडाैं । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्याअघि ६ जनाको समूहले हात बाँधेर लगेको स्थानीयले बताएका छन् । प्रहरीभन्दा पहिले घटनास्थल पुगेका स्थानीय मदन श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले भने, ‘उहाँ (शिक्षक) गाईवस्तुको धन्दा गर्दै हुनुहुन्थ्यो । ६ जना नकावधारी समूहले पाता फर्काएर लगे ।’
उनले एक अर्का स्थानीय गोबिन्द श्रेष्ठले सो घटनाबारे जानकारी दिएको र आधा घण्टापछि खोज्दै जाँदा शव भेटिएको बताए । ‘अज्ञात समूहले आफ्ना स्थानीयलाई लगेको देखेपछि हामी सबै जम्मा भएर आधा घण्टापछि जंगलतर्फ लाग्यौँ, त्यहाँ पुग्दा शव भेटियो’, उनले भने ।
उनका अनुसार अज्ञात समूहले लैजाँदा घरमा शिक्षक एक्लै थिए । श्रीमती नजिकैको बाख्रा फार्ममा गएकी थिइन् । श्रीमतीलाई घटनबारे थाहा थिएन । शिक्षकका एक छोरा र एक छोरी छन्, दुवैको विवाह भइसकेको छ ।
हत्या गरिएका शिक्षकको कसैसँग दुश्मनी नभएको पनि उनले बताए । उनले भने, ‘थाहा भएसम्म उहाँको कोही दुश्मन थिएनन् । समाजसेवी जस्तो सहयोगी भावनाको हुनुहुन्थ्यो ।’ घटनास्थलबाट फर्किएर उनीहरूले वडाध्यक्षलाई खबर गरेका थिए ।
५४ वर्षीय शिक्षक राजेन्द्र राजेन्द्र सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए । उनी मंगलबार बिहान साढे ५ बजेतिर अपहरणमा परेका थिए । कसले हत्या गरेकाे हाे भन्ने अझै खुल्न सकेकाे छैन ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कुमार कार्कीले प्रहरी टाेली घटनास्थल पुगिसकेकाे जानकारी दिए । उनले मकालु खबरसँग भने, ‘सूचना आएजस्तो गोली हानेर हत्या भएको पाइएको छैन । शवकाे प्रकृति हेर्दा कुनै धारिलाे हतियारकाे प्रयाेग भएकाे देखिएकाे छ । कसले हत्या गरेकाे हाे भन्ने विषयकाे अनुसन्धान गरिरहेका छाैँ ।’








