अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व (फोटो फिचर)

विराटनगर । श्रद्धा र भक्तिका साथ मनाइने आस्थाको पर्व छठ पर्व कसैले घरमै मनाए भने कतिले नहर तथा स्थानीय जलाशयमा मनाए । सूर्य उपासनाको महान् पर्व कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै व्रतालुहरूले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन् ।

सरकारले कोरोना महामारीलाई ध्यानमा राखेर भिडभाडरहित छठ पर्व मनाउन आग्रह गरेपछि यस पटक विराटनगरका अधिकांश व्रतालुहरूले घरघरमै अस्थायी पोखरी बनाएर छठ पर्व मनाएका छन् भने कतिपयले नजिकको जलाशयमा मनाएका छन् ।

आज सूर्य उपासनाको तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आराधना गरेका छन् । सूर्यको आराधनाबाट विविध रोग निको हुने, सन्तान प्राप्ति परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको विराटनगर–९ की सुनिता ठाकुरले बताइन् ।

उनका अनुसार चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन नरखा, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई आराधना गर्ने प्रचलन रहेको छ । चौथो दिनको बिहान सूर्य उदाउनु अघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घा दिएर व्रतको समापन गर्ने चलन रहेको उनको भनाई छ ।

तस्विरः भरतराज शर्मा /सुजता लिम्बू

 

प्रतिक्रिया