नेकपामा नेतृत्व परिवर्तनको वहसः ‘थारो गाईलाई दुहेर दुध आउँदैन’

केशब नियात्री

‘लेखेर राख्नुस केपी ओलीले प्रचण्डलाई मरिकाटे नेतृत्व दिँदैनन् ।’ चार महिना अगाडी राजधानी दैनिकका सम्पादक ध्रुवजीसँग एउटा कामको सिलसिलामा एकाध समय विहान विहानै भेटघाट हुँदाको संवाद हो यो । उनले भनेका थिए–‘केपी ओलीले प्रचण्डलाई रछ्यानमै पुर्याउँछन् हेर्दै जानु होला । अबको महाधिवेशनबाट प्रचण्ड पार्टी अध्यक्ष हुने तयारीमा छन्, तर, उनलाई ओलीले ‘मरिकाटे’ दिँदैनन् ।’

मैले भने, ‘कसरी ?’
‘महाधिवेशनको उद्घाटनमा केपी ओलीेले पार्टी अब युवा पुस्ताको हातमा दिनुपर्छ भनेर दुई घन्टा भाषण गर्छन् । ‘हामी बुढाहरु सम्मानीत पदमा बसेर पार्टीलाई नयाँ पुस्तालाई जिम्मा लगाउँ’ ओलीले नै भनेपछि दोस्रो तहका नेता तथा कार्यकर्ताहरुको मानसिकता परिवर्तन हुन्छ । प्रचण्ड मात्र हैन, माधब, बामदेव, झलनाथ खनाल जोजो रिटार्यड लाइफमा छन् उनीहरु सकिन्छन् ।’

संयोग हो वा हैन, हिजो मात्रै ओलीले एपीवान टेलिभिजनमा महाधिवेशन पछि पार्टीलाई युवाहरुको हातमा दिनुपर्छ भने । ३०–३० वर्ष पार्टीको नेतृत्वमा बसेका, पटकपटक प्रधानमन्त्री भएका तथा पार्टीको नेतृत्व गरेकाहरु रिटायर्ड हुनुपर्ने उनको धारणा सार्वजनिक भयो ।

प्रधानमन्त्री ओलीले यत्तिकै यो प्रशंग निकालेका हैनन् । संभवतः रक्षामन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर उनले अबको महाधिवेशनबाट पुस्ता हस्तान्तरणको प्रक्रिया अगाडी बढाएको मान्न सकिन्छ । आफ्ना विस्वासिला पोखरेललाई आफ्नै अगाडी राखेर उनी संभवतः अबको महाधिवेशनपछि नेतृत्व लिन योग्य बनाउँदैछन् ।

त्यसो भए प्रचण्डको राजनीति सकिएको हो ?

यो प्रश्नको जवाफ अहिलेनै खोज्नुपर्ने अवस्था त छैन, किनभने अहिले पनि नेपालको राजनीति उनकै वरीपरी घुमिरहेको छ । पार्टीभित्र कार्यकारी अध्यक्षको पदमा उनै छन् । सरकार सञ्चालनमा ओलीलाई काउन्टर दिने ‘मुखौटो’ उनकै हो, भलै उनका पछिल्तिर माधब नेपाल, झलनाथ र बामदेव छन् । ओलीले प्रचण्डलाई पुरै विस्वास गर्नसक्ने अवस्था नभएकाले इश्वर पोखरेललाई अगाडी बढाउन खोजेको चैं पक्कै हो । ढुलमुले स्वभावका प्रचण्डलाई ओलीले झट्टै विस्वास गर्दैनन् ।
नेकपाभित्र पछिल्लो समय देखिएको शक्ति संघर्षले अबको महाधिवेशनबाट कुनै नयाँ प्रयोग हुनेमा विश्वस्त हुन सकिन्छ ।

नेकपामा पुस्ता हस्तान्तरणको आवश्यक्ता छ ?

नेकपा भन्दा अगाडी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन छ । अहिले कांग्रेसभित्र पनि पुस्ता हस्तान्तरणको बहस घनिभूत उठेको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतलाई सम्मानजनक विदाई गर्दै डा. शेखर, गगन थापा, प्रदीप पौडेलको पुस्ता नेतृत्वमा आउनु पर्छ भन्ने माग छ । सोहि अनुरुप नेकपामा पनि पुस्ता हस्तान्तरणको बहस चुलिएको हो ।

नेकपामा पुस्ता हस्तान्तरण अहिलेको अवस्थामा नाजायज हैन, जायज नै हो । ३० औं वर्षसम्म नेतृत्वमा बसेका, पटक–पटक सत्ताको स्वाद चाखेकाहरुलाई आजिवन नेतृत्वमा ल्याउनु पर्छ भन्ने आधार छैन । फेरी पटक–पटक सत्ताको नेतृत्वले गरेको काम पनि हामीले देखेकै हो । पटक–पटक अवसर पाएर पनि देश र जनताका लागि केही गर्न नसकेकाहरुले पुनः नेतृत्वमा गएर ‘अग्रगामी छलाङ’ मार्छन् भन्ने ग्यारेण्टी छैन । त्यस कारण केपी शर्मा ओलीले भनेजस्तो पार्टीभित्र पुस्ता हस्तान्तरणको अभियान चालिएकै हो भने, प्रचण्ड, बामदेब, झलनाथ र माधब नेपाल रिटायर्ड भएकै राम्रो ।

त्यसो त नेकपा भित्र उनीहरु मात्र हैन, धेरै यस्ता व्यक्तिहरु छन् जो जिवनको उत्तरार्ध तिर छन्, रोग र शोमा डुबेका ती नेतृत्वहरुले अब युवाहरुलाई ठाउँ दिनुपर्छ । यसका लागि ओलीले अहिले नै नयाँ पुस्तालाई तयार गरेर लैजानु आवश्यक छ ।

नेतृत्व भनेको समय र परिस्थितिले माग्ने कुरा हो । बर्तमान अवस्थामा मुलुकको विकासमा युवा शक्तिको मुख्य भूमिका रहनुपर्छ । २१ औं शताब्दीमा ‘टाइपराइटर’ले काम गर्छु, गुरुकूलमा शिक्षा हासिल गर्छु, धुलौटोमा लेख्छु भनेर हुँदैन । समयसापेक्ष विज्ञान र प्रविधि अनुसार अगाडी बढ्नु पर्छ । र, नेतृत्वमा पनि त्यस्तो सोच हुनुपर्छ ।

७० वर्ष कटेका पुस्ता र भर्खर ३० लागेकाहरुको सोच विचार मिल्न सक्दैन । पार्टी सञ्चालनमा पनि अब ७० वर्ष अघिको विचारले काम गर्दैन । विश्व राजनीतिमा विकसिल नयाँ विचार र सिद्धान्त आवश्यक छ । वीपी कोइरालाले ५० वर्षअघि कल्पना गरेको ‘एउटा घर, एक हल गोरु, एउटा गाई, एक भकारी धान’ले संमृद्ध नेपालको सपना साकार हुँदैन । बर्तमान नेकपामा नेतृत्वमा रहेकाहरुको धारणा अझैपनि त्यहाँभन्दा माथि गएको छैन । उनीहरु अझैपनि परम्परागत सोच र प्रणालीबाट ग्रस्त छन् ।

मदन भण्डारीले जबजको सिद्धान्त त ल्याए तर, त्यसलाई कार्यान्वयन गर्न तत्कालिन नेकपा एमाले नै पछि हट्यो ।

परिवर्तनशील समयलाई चिन्न नसक्दा एमालेले मदन भण्डारीलाई गुमायो । जबजकै प्रारुप अनुसार ०५२ सालमा प्रचण्ड, बाबुरामहरुले संघियता र जनताको संविधानको परिकल्पना गरे । १० वर्ष शशष्त्र जनयुद्ध गर्दै १७ हजार नेपालीको ज्यान लिएको शशष्त्र क्रान्तिले राजनीतिक अधिकार त हासिल गर्यो तर, दशकौंदेखि मुलुकमा विद्यमान गरिबी, अशिक्षाका सन्दर्भमा कुनै ‘माखो’ मार्न सकेन ।

फलस्वरुप सात दशक यता मुलुकमा जे जति परिवर्तन भए ती जनता र जनजिविकाका पक्षमा भएनन् । मुलुकबाट राजतन्त्र समाप्त भयो, संघियता, धर्मनिरपेक्षता र जनताद्वारा लेखिएको संविधान आयो, तर, व्यवहारतः त्यसको समुचित प्रतिफल जनताका झुपडीमा पुगेन तिनै सत्ताको वरीपरी रहनेहरु वर्गहरुकै अघिपछि हरायो ।

तसर्थ, हामीले गणतन्त्र आयो, संघियता आयो, गाउँगाउँमा सिंहदरबार गयो भनेर मुख मिठ्याइरहनुको तुक छैन जबसम्म हिमाल, पहाड तराईका गरिब, किसान र मजदुरवर्गको चुल्होमा ‘आगो’ बन्दैन ।

केपी शर्मा ओलीले ‘संमृद्ध नेपाल सुखी नेपाली’को नारा त अगाडी सारे तर, २१ औं शताब्दीमा ‘संमृद्ध नेपाल सुखी नेपाली’ भनेको कस्तो हुन्छ ठम्याउन सकेनन् । एकाध कार्यकर्ता र सत्ताको वरीपरी ‘ज्यू हजुर’ गर्नेहरु मोटाए, चिल्ला गाडीमा हिँडे, राजधानीमा महल ठड्याए भन्दैमा समाजवाद आएको मानिँदैन । समाजवाद त साँढे तीन करोड नेपालीको घरघरमा आउनु पर्छ ।

ओलीले भनेको समाजवाद पनि कार्यकर्ता केन्द्रीत भयो । त्यसलाई आम जनताका घरदैलोमा पुर्याउनु आवश्यक छ र, यसका लागि पनि नेतृत्व परिवर्तन अर्थात् पुस्ता हस्तान्तरण अपरिहार्य छ, चाहे त्यो नेकपा भित्र होस् वा सरकारभित्र नै ।

अब प्रचण्ड, माधब, झलनाथ र बामदेव तथा स्वयं केपी ओलीले मुलुकलाई २१ औं शताब्दीले खोजेको जस्तो विकास र परिवर्तन दिन सक्दैनन् । जसरी थारो गाईलाई दुहेर दुध निस्कँदैन, त्यसैगरी जिवनको उत्तरार्धमा पुगेका नेताहरुलाई बोकेर मुलुकको परिवर्तन हुँदैन । परिवर्तन आवश्यक छ, त्यो पार्टीभित्र पनि र पार्टी बाहिर पनि ।

प्रतिक्रिया