वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफूले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताएका छन् ।
नेपालगञ्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भनेका छन्–‘यस अघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईँहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदाजस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु ।’
वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उनले बताए । ‘अहिले विपक्षी साथीहरुले महासंघमा २५÷३० वर्ष बिताएको भन्दै अब आफूले नेतृत्व गर्न पाउने दावी गर्दै आएका छन्,’ उनले भनेका छन्, ‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि आफैँले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । नेतृत्वका लागि व्यवसायीहरुको विश्वास र समर्थन आवश्यक पर्छ ।’
आफूले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागिपर्ने बताए ।
ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए ।
ढकालले भने, ‘आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’
यसअघि गुलरिया शुक्रबार उद्योग वाणिज्य संघद्धारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा राखेका हुन् ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले यस अघि आफूहरुले सहयोग गरेका कतिपय उम्मेदवारले चुनाव जितेपछि प्रतिवद्धता अनुरुप काम नगरेको भन्दै यस पटकको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल नेतृत्वको टोलीबाट त्यस्तो धोका नहुने बताए । ‘यसअघि चुनाव जितेका साथीहरु केन्द्रमा मात्रै रमाएर बसे । तर यस पटकको हाम्रो उम्मेदवार चन्द्र ढकालले ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सीमित भएर बस्नुहुने छैन । जिल्लाकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्नुहुने छ,’ उनले भने, ‘हाम्रो प्यानल विजयी भएबित्तिकै जिल्ला नगरका समस्या समाधान गर्न हामी लाग्नेछौं ।’
यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यसअघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफूहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिलसमेत गरे ।
‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’
साथै कोभिडका कारण जिल्ला नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफू नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताए । साथै अबका दिनमा बस्तुगत तथा एशोसिएट्सबाट मात्रै हैन ५० प्रतिशत मतभार भएको जिल्लाकै साथीहरु अध्यक्ष बन्ने माहोल समेत आफुले बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्ने अधिकांश जिल्ला अध्यक्षहरुले महासंघको नेतृत्वमा रहेका व्यक्तिले फोन समेत नउठाएको गुनासो गरेका थिए । कार्यक्रममा उपस्थित ३० भन्दा बढी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले जिल्लास्तरबाट सानो व्यवसायबाट सुरु गर्दै ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गर्दै आफ्ना समस्या बुझेका चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा र जिल्ला नगरका समस्यासँग जुध्दै आएको गुणनिधी तिवारीलाई उपाध्यक्षमा बिजयी गराउने प्रतिवद्धता जाहेर गरे ।









