कोटेश्वरबाट अविश्वासको प्रस्ताव ल्याउने षडयन्त्र भएको छ, सबै षडयन्त्र परास्त गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध कोटेश्वरबाट अविश्वासको प्रस्ताव ल्याउने षडयन्त्र भएको भन्दै त्यसलाई परास्त गरिने बताएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताउँदै त्यसलाई परास्त पार्ने बताएका हुन्, बैठकमा सहभागि एक नेताले जानकारी दिए।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती नेताले भने, “कोटेश्वरमा बसेर षडयन्त्र भएको छ, सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेछ, सबै प्रकारका षडयन्त्रलाई परास्त गरिनेछ ।”
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दाहालको नाम नलिइकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको आफूले सूचना पाएको बताएका थिए ।
नेकपा भित्रको विवाद समाधानका लागि छलफल गर्न आज पनि अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच बालुवाटारमा वार्ता भएको थियो तर आजको छलफलबाट पनि कुनै किसिमको सहमतिको संकेत नदेखिएको स्रोतले जानकारी दिएको छ ।








