वीपी प्रतिष्ठानमा अनाधिकृत रुपमा बस्नेहरुलाई निकाल्न सिडिओको निर्देशन

धरान । सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले कोभिड अस्पताल र उपचारको बेथितिहरु सुधार भए नभएको बारेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग जानकारी लिएका छन् ।

प्रतिष्ठानले सञ्चालन गरेको कोभिड अस्पतालमा स्वास्थ्योपचार नपाएपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायले चासो बढाएका छन् । यसअघि प्रतिष्ठानमै आएर सुधारको निर्देशन दिएका अधिकारीहरुले आज पुनः प्रतिष्ठानका पदाधिकारीले विगतमा गरेको प्रतिवद्धता अनुसार कोभिड अस्पताल र उपचारमा भएको सुधारबारे जानकारी लिएका हुन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले विगतमा उठेका बिषय तथा जनगुनासोबारे बुझ्न प्रतिष्ठान आएको बताए । ‘यसअघि उठेका विषयहरुमा के कति प्रगति भयो ? पदाधिकारीहरुले कसरी काम गर्दैछन् भन्ने जानकारी लिन आएका हौं ।’ प्रजिअ पोखरेलले भने ।

उनीहरुले प्रतिष्ठानको क्वार्टरमा बसेका अनावश्यक व्यक्तिहरुलाई निकाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । प्रतिष्ठान हाताभित्र रहेका क्वाटर तथा गेष्ट हाउसमा अनाधिकृत व्यक्तिहरु बस्ने गरेको स्वयं कर्मचारीहरुको भनाई छ ।

पदाधिकारीहरुले अनावश्यक व्यक्तिहरुलाई निकाल्न प्रक्रिया शुरु भइसकेको जवाफ दिएको पनि उनले बताए । ‘कोरोनाको समय अनावश्यक मान्छेहरु भित्र बसेका रहेछन् । रिटायर्ड भए पनि छोराछोरीहरु बस्ने, भ्रष्टचार मुद्दा परेर निलम्बन भए पनि त्यही बस्ने गर्दा रहेछन्, यहाँ सम्मकी ठेकेदार समेतले क्वाटर ओगटेका रहेछन् । तिनिहरुलाई तुरुन्तै निष्कासन गर्न भनेका छौं ।’ उनले भने ।

कोरोना हस्पिटल सुधारका लागि भएका कामहरुका बारेमा पनि प्रजिअको टोलीले सोधखोज गरेको थियो । सो विषयमा पदाधिकारीहरुले बिग्रिएको भेन्टिलेटर बनिसकेको, थप १० वटा भेन्टिलेटर आइरहेको बताएका थिए । यसैगरी कोभिडमा सबै बेडमा अक्सिजन पाइप जोड्ने काम भइरहेको र नयाँ प्लान्ट थप्ने कार्य पनि शुरु भएको जानकारी आएको प्रजिअ पोखरेलले बताए ।

प्रजिअ पोखरेलसँगै सुनसरीका एसपी कमल थापा, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल पनि प्रतिष्ठान आएका थिए ।
प्रजिअको टोलीलाई प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा. गौरीशंकर साह र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले कार्य प्रगतिका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया