नेपाली जनताले मुलुकको राजनीतिक यात्रा पुनर्विचार गर्नु जरुरी छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले एकपटक नेपाली जनताले नेपालको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी रहेको बताएका छन् । अध्यक्ष थापाले सोमबार विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

उनले नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिब ३ वर्ष पुरा हुन लागिरहेको बताउँदै जनताले देश आर्थिक समृद्धिको दिशा तर्फ उन्मुख हुने आशा गरेको बताए ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘एक दशक लामो हिंसात्मक द्वन्द र त्यसपछि अर्को दशवर्ष लामो अस्थिरता र अराजकतापूर्ण संक्रमणको पीडा भोगेका जनताले नयाँ संविधानअनुसार निर्वाचन सम्पन्न भएपछि तथा जनादेश अनुसार नयाँ सरकार गठन भएपछि देशमा दिगो शान्तिको स्थापना हुने, प्रजातन्त्र बलियो हुने, राजनीतिक स्थिरता कायम रहने र देश आर्थिक समृद्धिको दिशा तर्फ उन्मुख हुने आशा गरेका थिए।’

यही आशा र विबिश्वासका साथ उत्साहप्रद ढंगबाट चुनावमा सहभागी भएका नेपाली जनता फेरि निराश हुन बाध्य भएको थापाले उल्लेख गरेका छन् ।

‘राजनीतिक स्थिरताको निमित्त जनताले नेपाल कम्युनिष्ट पार्टीलाई अत्यधिक बहुमतले विजयी गराएका थिए। झण्डै दुईतिहाइ बहुमतका साथ नेकपाको नेतृत्वमा शक्तिशाली सरकार गठन भएको थियो। तर, दुर्भाग्यवश गत ३ वर्षको अवधिमा जनताले कुनैपनि क्षेत्रमा सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएनन्’ उनले भने ।

कोरोना भाइरसको अत्यन्तै खतरनाक र डरलाग्दो महामारीबाट विश्व समुदाय अहिले पिडित रहेको बताउँदै उनले
यस महामारीमा सरकारको उपस्थिति जनताले महसुस गर्न नपाएको जिकिर गरेका छन् ।

यस्तै उनले महिलाविरुद्धको हिंसा केही वर्षयता नेपालमा व्यापक हुँदै गएको बताए । सरकारले यो समस्याको समाधानमा पनि प्रभावकारी उपस्थिति देखाउन नसकेको उनको भनाइ छ । कन्चनपुर, महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई सरकारले अझै कानुनको कठघरामा उभ्याउन नसकेको उनको गुनासो छ ।

नेपालमा भ्रष्टाचार अहिले डरलाग्दो महारोगको रुपमा देखा परेको र लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरुले व्यापारी र कर्मचारीहरूको ‘त्रिकोणात्मक गठबन्धन’ तयार गरेर हरेक क्षेत्रमा ब्रह्मलुट गरिराखेको उनले उल्लेख गरेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म अनियन्त्रितरूपले अनियमिता र भ्रष्टाचार व्यापक भएको छ । भ्रष्टाचार र ब्रह्मलुटलाई नियन्त्रण गर्ने, अनुसन्धान गर्ने, कारवाही गर्ने निकायहरू नै सरकारको लाचार छायाँ बन्न पुगेको उनको भनाइ छ ।

‘आखिर किन यस्तो भइरहेको छ ? केही यी समस्याहरूको समाधान छैन ? के संकट, विकृति र विसंगति नेपाली जनताको नियति हो ?’ थापाले प्रश्न गरेका छन् ।

नेपाली जनताको उक्त चिन्ता र चासो स्वभाविक भएको उनको भनाइ छ । पटक–पटकका क्रान्ति, आन्दोलन, विद्रोह पछि आमूल परिवर्तनको सपना देखाएर सत्तामा पुगेका संवाहकहरू नै अन्ततः विकृति, संकट र ब्रह्मलुटका मूख्य पात्र बन्ने गरेको उनले उल्लेख गरेका छन्।

कुनै पनि दलको विभाजनलाई उपयुक्त वा राम्रो मान्न नसकिने उनको भनाइ छ । उनले भने, ‘नेकपा पनि नफुटोस्। आफ्नो अकर्मण्यता, अलोकप्रियता र असफलताको बोझले दलदलमा भासिएको नेकपालाई उनीहरूको विश्वास र भरोसा नभएको भगवानले मात्र अब जोगाउन सक्छन्।’

२००७ सालदेखि २०६२÷६३ सम्म नेपालमा भएका सबै परिवर्तनका सुत्रधार र प्रायोजक वाह्य शक्ति, त्यसमा पनि मुख्य रूपले छिमेकी भारत रहँदै आएकोबारे कुनै विवाद नभएको उनले बताए।

उनले २०६२/६३ को परिवर्तनको सन्दर्भमा भने केही फरकरूपमा पनि चिन्तन मनन हुनु जरुरी रहेको बताए ।

२०६२/६३ को आन्दोलनको सुत्रधार र प्रायोजक भारतीय शासकवर्गका साथै पश्चिमा मुलुकहरु रहेको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको मौलिक एजेण्डा नभएको, माओवादी र संसदवादी दलहरूबीचको समझदारी अस्वभाविक र अप्राकृतिक रहेको उनले उल्लेख गरेका छन् ।

समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव नभएको उनको भनाइ छ। मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ नरहेको उनको जिकिर रहेको छ ।

‘केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै अमुक दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।

विगत चौध वर्षको राजनीतिक अभ्यासलाई दृष्टिगत गर्दै एकपटक फेरि नेपाली जनताले मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी भएको थापाले बताए ।

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया