फिलिपिन्समा विध्वंसात्मक आँधी, झन्डै २ करोड मानिस प्रभावित

काठमाडौं । फिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कतिपय ठाउँमा अचानक बाढी आउँदा, हावाहुरीले घरका छानाहरू उडाउँदा र रूख ढाल्दा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार आइतवार बिहान ४:५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर वेगसहित क्याटानडुएस टापुमा आँधी बजारिएको थियो । हुन त त्यसयता समुद्री आँधी कमजोर हुँदै गएको छ । तर लुजोन टापुमा त्यसले अझै क्षति निम्त्याइरहेको छ ।

झन्डै २ करोड मानिस प्रभावित
राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो निवासबाट विपद्‌ व्यवस्थापनको दिशामा भइरहेका कामलाई नियालिरहेको उनका प्रवक्ताले जनाएका छन् ।

फिलिपिन्सको राष्ट्रिय विपद्‌ व्यवस्थापनसम्बन्धी निकायका एक अधिकारी मार्क टिम्बलका अनुसार आँधीको बाटोमा पर्ने क्षेत्रका एक करोड ९० लाख मानिस प्रभावित भएका छन् । “एक करोड ९० लाख जनसङ्ख्या बाढी, हावाहुरी, पहिरो लगायतको जोखिममा छ,” उनले भने ।

फिलिपिन्समा सन् २०१३ मा छ हजार व्यक्तिको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन् ।

राजधानी मनिलास्थित बीबीसी संवाददाता होवार्ड जोन्सनका अनुसार समुद्री आँधीको आगमनसँगै सम्पर्क विच्छेद भएको क्याटानडुएस टापुमा पर्ने भिराक नगरका करिब ७० हजार बासिन्दाको अवस्थाबारे चिन्ताहरू व्यक्त भइरहेका छन् । एल्बे प्रान्तमा एक पाँच वर्षीय बच्चासहित सात जनाको मृत्यु भएको विवरणमा जनाइएको छ ।

विद्युत अवरुद्ध
शक्तिशाली आँधीका कारण क्वेजोन प्रान्तका १० वटा शहरमा विद्युत्‌ आपूर्ति अवरुद्ध भएको छ । फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा जति आँधी आउने गरेको बताइन्छ ।

तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण पूर्वतयारी पनि प्रभावित भएको अधिकारीहरू बताउँछन् । आँधीले पुर्‍याउन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै तीन लाख ४७ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

एक रक्षा अधिकारीले समाचार संस्था एएफपीलाई भने, “कोरोनाभाइरस महामारीका कारण उद्धार तथा स्थानान्तरण गर्ने कार्य पनि जटिल हुन पुगेको छ ।” बीबीसी

प्रतिक्रिया