१४ लाख बढी नगदसहित एकैदिन ४० जुवाडे पक्राउ

काठमाडाैं । काठमाडाैं, भक्तपुर र ललितपुरबाट प्रहरीले ४० जुवाडेलाई नियन्त्रणमा लिएकाे छ ।

भक्तपुर, नगरपालिका-१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ चमति बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका(२ बस्ने ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा कौडा खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ लाख ५४ हजारौ ५ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया