कर्णालीका असन्तुष्ट पक्षलाई भेटे अध्यक्ष दाहालले, अब सामूहिक छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेको भोलिपल्ट शुक्रबार (आज) असन्तुष्ट पक्षलाई भेटेका छन् ।

अध्यक्ष दाहालले आफ्नै निवास खुमलटारमा मुख्यमन्त्री शाहीसँग असन्तुष्ट बनेका यामलाल कँडेल, गुलाबजङ्ग शाहलगायतका नेतालाई भेटेका हुन्

भेटमा कर्णाली विवादका बारेमा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । कर्णालीमा समस्या देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले पत्र काटेर असोज २९ भित्र काठमाडौं आउन निर्देशन दिएका थिए । सोही अनुरुप अहिले कर्णालीका उच्च नेताहरु काठमाडौंमा छन् ।

गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि चुलिएको विवाद हालको लागि मथ्थर भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सांसदहरुले हात झिकेपछि प्रस्तावको झर्को हालको लागि टरेको हो ।

प्रधानमन्त्री ओलीसहित सामूहिक छलफल गर्ने भनिए पनि अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन । प्रधानमन्त्रीको व्यस्तता बढेपछि सामूहिक छलफल हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया