नियमित काममा फर्किने भए आवासीय चिकित्सक

काठमाडौं । अनसनरत डा‍. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ओपीडी सेवा बहिष्कार गरेका आवासीय चिकित्सकहरू आजदेखि नियमित काममा फर्किएका छन् । डा. केसीको समर्थमा मंगलबारदेखि ओपीडी बहिष्कार गरेका तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आजदेखि नियमित काममा फर्किने विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका थिए । विहिबार इमरजेन्सी बाहेक सबै सेवा ठप्प पारेर धर्नामा बस्ने घोषणा गरेका थिए तर, कोरोनाको कारण बिरामीको उपचारमा असर गर्छ भनेर धर्ना कार्यक्रम स्थगित गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका अध्यक्ष डा. प्रकाश भट्टराईले जानकारी दिए ।

बिरामीको सेवा नै आफ्नो धर्म भएको जनाउँदै उनीहरुले डा. केसीकाे अनसन रहुञ्जेलसम्म कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् । जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका डा‍. केसीको अनसनको आज २६औ दिन हो ।

प्रतिक्रिया