भारतीय कामदारको भरमा ईटा उद्योग, कामदार अभावका कारण उद्योग सञ्चालमा सकस

विराटनगर । कटहरी ४ मा रहेको जय गणेश ईट्टा उद्योग कामदार अभावका कारण बन्द छ । गत चैत्र ११ गते सरकारले लकडाउन कार्यन्वयन गरेसँगै उद्योगमा कार्यरत कामदारहरु घर फर्किएकाले उद्योग यो समय शुन्य छ ।
मोरङमा रहेका अधिकांश ईट्टा उद्योगहरु भारतीय कामदारहरुको भरमा नै चल्ने गरेको जय गणेश ईट्टा उद्योगका सुपरभाईजर गिराजा प्रसाद साहले जानकारी दिए ।

विश्वमहामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपाल–भारत सीमा आउजाउ बन्द भएसँगै भारतीय मजदुरलाई नेपाल प्रवेशको अनुमतीमा रोक लगाईएको छ ।
भदौदेखि नै ईट्टा बनाउन सुरु भए पनि मजदुर अभावका कारण उद्योग बन्द गरेर बस्नुपर्ने बाध्यता रहेको साहको भनाई छ ।
उनले भने,‘ नेपाली कामदार तालिम प्राप्त हुँदैनन् र ईट्टा उद्योग सञ्चालनमा आएपछि निरन्तर चलिरहन्छ भट्टिमा खासै नेपाली कामदार खट्न नसक्ने भएकाले भारतीय कामदार कै भर पर्नुपर्ने बाध्यता छ ।’

करिब २ सय जनाको हाराहारीमा भारतीय कामदार रहेको जय गणेश ईट्टा उद्योग यति बेला सुनसान छ । लकडाउनको समय कामदार आफ्नै देश फर्किएका कामदारलाई नेपाल फर्काउन नसकेको कारण ईट्टा उत्पादनमा समस्या आएको साह बताउँछन् ।
वार्षिक तीस लाख ईट्टा उत्पादन क्षमता रहेको जय गणेश ईट्टा उद्योगमा कामदार अभावका कारण ईँटा उत्पादन नहुँदा प्रभावित हुने अवस्था सृजना भएको उनको भनाई छ ।

विकल्पकोरुपमा ईटा निर्माण गर्ने मेसिन मगाए पनि दक्ष जनशक्तिको अभावका कारण मेसिन सञ्चालनमा पनि समस्या नै पर्ने अवस्था रहेको उनी बताउँछन् ।
प्रदेश नम्बर १ मा सञ्चालनमा रहेको ईटा उद्योगमा पश्चिमबंगाल कुचबिहारका २२ हजार मजदूरले काम गर्दै आईरहेका थिए । प्रदेश एकका अधिकांश ईटा उद्योगमा ९० प्रतिशत भारतीय कामदारको भरमा ईटा उद्योग चलेका छन् ।









