डा. केसीसँग वार्ताका लागि टाेली गठन गर्न चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सकले संघले अनशनरत डा. गाेविन्द केसीसँग वार्ता गर्नका लागि टाेली गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएकाे छ । संघका महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग वार्ता गर्नका लागि टाेली गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएका हुन् ।
‘डा. केसीकाे जीवनरक्षाका निम्ति नेपाल सरकारले ७२ घण्टाभित्र वार्ता टाेली गठन गरी वार्ता र संवादकाे माध्येमबाट अबिलम्ब सत्याग्रहकाे अन्त्य गर्न नेपाल चिकित्सक संघ जाेडदार माग गर्दछ, ’ डा. रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टाेली गठन नगरे नेपाल चिकित्सक संघले जस्ताेसुकै कठाेर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएकाे छ ।
डा केसीले १९औं अनशन सुरु गरेको आइतबार २१ दिन पुगेको छ । उनले गत भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका थिए । उनकाे अनशनमा प्रतिपक्षी दलका नेताहरूले समेत ऐक्यबद्धता जनाएका छन् ।
पछिल्लाे समय डा. केसीकाे स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाे छ । उनलाई अहिले अक्सिजन सपोर्टमा राखिएको छ ।










