मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रधानमन्त्री ओलीका सल्लाहकारहरुम कोरोना संक्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको हो ।
यस्तै स्वकीय सचिव इन्द्र भण्डारीलाई समेत कोरोना पुष्टि भएको छ । ओलीका परराष्ट्र सल्लाहकार भट्टराईले ट्वीटरमार्फत् आफूलाई संक्रमण भएको पुष्टि गरेका छन् भने, अन्य दुई सल्लाहकारसँगै स्वकीय सचिवलाई पनि संक्रमण देखिएको बताइएको छ । यता प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रदेश ५ राजधानी विवाद : बुटवलमा भोलि आन्दोलन गर्ने कांग्रेसको घोषणा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले बुटवलमा आन्दोलन गर्ने घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले बुटवलमा आन्दोलन गर्ने घोषणा गरेको हो ।
प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए ।
दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध भोलि रुपन्देही बन्द गरी बृहत् प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो ।
आजको कोरोना अपडेटः ८ जनाको मृत्यु, कति संक्रमित ?
गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ५ सय २८ पुगको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
यस्तै गत २४ घण्टामा थप २ हजार १ सय २० जनामा संक्रमण पुष्टि हुँदा २ हजार ४४ जना डिस्चार्ज भएका छन् ।
आजको थप अपडेटसँगै कूल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ भने गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७७ नयाँ संक्रमित थपिएका छन् ।
आज बोलाइएको नेकपा सचिवालय बैठक आइतबारलाई सर्यो
सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबारका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लौटी निर्णयबाट केही नियुक्तिहरु गरेको आरोपपछि पार्टीमा छलफल गर्न भन्दै सचिवालय बैठक आज ४ बजेका लागि बोलाइएको थियो ।
सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक सरेको हो ।
सार्वजनिक बसमा पूर्ण सिट क्षमतामा यात्रु राख्ने प्रस्ताव सिसिएमसी पठाइएको छ : मन्त्री नेम्बाङ
भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले हवाई जहाजमा जस्तै सार्वजनिक बसमा समेत सिट क्षमता जति नै यात्रु राख्नेबारे स्वस्थ्य मापदण्ड संशोधनका लागि प्रस्ताव गरिएको बताएका छन् ।
मापदण्ड संशोधनका लागि सिसिएमसीमा प्रस्ताव गरिएको उनको भनाइ छ ।
मन्त्री नेम्बाङले हवाई उडान पूर्ण सिट क्षमतामा सञ्चालन भएको र सरोकारवालाहरुबाट गुनासोसमेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा प्रस्ताव पेस गरिएको समेत बताए ।
उनले मापदण्ड संशोधन भएर आएपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने बताए ।
गोविन्द केसीको समर्थनमा प्रदर्शन : स्वास्थ्य र शिक्षामा माफियातन्त्र बन्द गर
अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन भएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दा पनि सरकारले माग सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै उनका समर्थकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
मौन प्रदर्शनमा सहभागीहरूले ‘नेपाली जनता जिन्दावाद, भ्रष्टाचारी मुर्दावाद । स्वास्थ्य र शिक्षामा माफियातन्त्र बन्द गर । गोविन्द केसी जिन्दावाद । सत्याग्रही गोविन्द केसीको माग पुरा गर’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।
केसीले ६ बुँदे माग राखी १९ औं अनशन थालेको २० दिन पुरा भएको छ ।
‘सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्ने चिन्ता छ’
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको टिप्पणी गरेका छन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहँदा उनको माग सम्बोधनमा चासो नदेखाएको आरोप लगाउँदै सरकार मस्त निन्द्रामा रहेको टिप्पणी गरेका हुन् ।
उनले डा. केसीको जीवनरक्षाका लागि सरकारलाई आह्वान गर्न नागरिकलाई आग्रह समेत गरेका छन् ।
आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल
नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो ।
पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको महामारीले निम्त्याएको विनाश र आणविक दुर्घटनाजस्तै भए पनि पारमाणविक दुर्घटनाले एक झपटमै हजारौँ जीवन ध्वस्त पार्ने सन्दर्भ सुनाउँदै कोभिड–१९ विरुद्धको औषधिले मानव जीवन जोगाए पनि आणविक अस्त्रले अमूल्य जीवन बचाउन नसक्ने तर्क गरे ।
‘बार्सिलोनाका खेलाडीहरु भोकाएको देखेको छु’ कोइम्यान
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले आफू नेतृत्वको क्लब उत्कृष्ट भएको स्पष्ट पारेका छन् ।
बिहीबार राति सेल्टा भिगोविरुद्धको खेलमा स्पष्ट जित हात पारेपछि पत्रकारसँग कुरा गर्दै कोइम्यानले यस्तो बताएका हुन् । बिहिबार राती ला लिगामा बार्सिलोनाले आफ्नो दोस्रो जित निकालेको थियो ।
दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ । यसअघि बार्सिलोनाले पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोल अन्तरको जित दर्ता गरेको थियो ।
अजरबैजानका तीन ओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी
नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ ।
अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो ।
यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो । उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो ।








