करेन्ट लागेर र डुबेर तीन जनाको मृत्यु, पाल्पा, अछाम र बैतडीमा तीन जना मृत फेला

काठमाडाैं । रूपन्देहीमा करेन्ट लागेर एक जना र बर्दिया, उदयपुरमा डुबरे दुई जनाको मृत्यु भएकाे छ भने पाल्पा, अछाम र बैतडीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीकाे शुद्धोधन गाउँपालिका-३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।
सोही गाउँपालिका-४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा प्लास्टरको काम गर्ने क्रममा नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बर्दियाकाे बढैयाताल गाउँपालिका-५ जगतिया बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमा थारुको घर नजिकैको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।
उता उदयपुरकाे रौतामाई गाउँपालिका-२ स्थित रसुवा खोलामा डुबेर सोही गाउँपालिका-८ जरङगे बस्ने ५५ वर्षीया मैया लुङगेली मगरको आइतबार मृत्यु भएको छ ।
यसैगरी पाल्पाकाे तिनाउ गाउँपालिका-१ झिङ्गामारास्थित जंगलमा रुपन्देही सैनामैना नगरपालिका-४ बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अछाममा पनि चौपाटी गाउँपालिका-१ बस्ने ४८ वर्षीया जमुना सोही ठाउँस्थित चिरकिट्टेमा आइतबार मृत अवस्थामा फेला परेकी छन् भने उता बैतडीकाे दशरथचन्द नगरपालिका-६ सेरास्थित चौलानी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यी सबै घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।








