कोरोना संक्रमितप्रतिको सद्भाव- स्थानीयले दिए पौष्टिक आहार

चितवन । कोरोना भाइरस संक्रमितहरु अपमानित भएका समाचारहरू दिनहुँ आइरहेका छन् । कतिपय स्वास्थ्यकर्मीहरु पनि समुदायबाट अपहेलित भएका छन् । तर पूर्वी चितवनका चार वटा नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितहरु प्रति भने त्यहाँका स्थानीयले उदारता देखाएका छन् ।

वैदेशिक रोजगारीमा रहेकाहरु र स्थानीयबाटै संकलित सहयोगबाट स्थापित विषेश विपद् व्यवस्थापन राहत कोषले रत्ननगर ५ टरौलीस्थित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रमा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहारसहित स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

उनीहरुलाई मह, अण्डा, विस्कुट, चाउचाउ, मास्क, सेनिटाइजर प्रदान गरिएको थियो । संघको अनुसन्धान केन्द्रमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाले सयुक्त रुपमा आइसोलेसन बनाएका छन् । जहाँ हाल २६ जना कोरोना संक्रमित रहेका छन् । ‘कोरोना संक्रमण जसलाई पनि हुन सक्छ, उनीहरुलाई अपहेलना गर्न हुन्न’, रत्ननगर ५ का वडाध्यक्ष समेत रहेका विषेश विपद् व्यवस्थापन राहत कोषका संयोजक कृष्ण महतोले भने– ‘मानविय नाताले उनीहरुलाई सहयोग र सद्भाव देखाउनु पर्छ ।’ सो स्थानमा आइसोलेसन सेन्टर बनाउन हुँदैन भनेर सुरुमा विरोध समेत भएको थियो तर अहिले स्थानीयले सदासयता देखाउन थालेको वडाध्यक्ष महतोले बताए ।

कोषका संयोजकसहितका पदाधिकारीहरुले आइतबार आइसोलेसनमै पुगी खैरहनी नगरपालिका मेयर लालमणि चौधरी र आइसोलेसन सेन्टर व्यवस्थापन समितिका संयोजक रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा खैरहनीका मेयर लालमणि चौधरीले विभिन्न स्थानमा कोरोना संक्रमित प्रति हेर्ने दृष्टिकोण फरक रहेपनि यहाँका स्थानीयले गरेको सहयोग उदाहरणीय रहेको बताए । मेयर चौधरीले संक्रमण देखिँदैमा आत्तिनु नपर्ने भएकाले उनीहरुप्रति देखाउने व्यवहार सकारात्मक हुनुपर्ने औँल्याए । सो आइसोलेसनमा रहेकाहरुलाई खैरहनीस्थित राधा स्वामी ब्यास नेपालले निःशुल्क खानाको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =