‘शिकारी’को पासोमा कोही किन परौं ? :विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लक्षित पछिल्ला समाचार प्रति अर्का सल्लाहकार विष्णु रिमालले ‘पानी–अनलाईन’हरु प्रयोग गरी चरित्र हत्या गर्न गर्ने कार्य भइरहेको बताएका छन् ।

केहि दिन यता प्रधानमन्त्रीका सल्लाहकार डा. भट्टराईमाथि आफ्ना पत्नीको नाममा संस्था खडा गरेर मित्रराष्ट्रविरुद्ध ‘जासुसी’ गरी आर्थिक लाभ लिएको आरोप लागेको थियो ।

विष्णु रिमालले आज एक स्टाटस लेख्दै सार्वजनिक पदमा रहेका आफ्ना प्रतिष्पर्धीहरुको ‘चरित्र शिकार’ गर्न छद्म लगानीमा सञ्चालित अनलाईनहरुलाई प्रयोग गर्दै लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चार माध्यमका दुरुपयोग भएको देख्दा आफुलाई दुखः लागेको समेत बताएका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल ।

उनले यस्ता कार्यहरु विगत अढाई वर्ष यता निरन्तर भइरहेको पनि बताएका छन् । खासगरी सत्तारुढ दलका नेता मन्त्रिपरिषद्का सदस्य र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली प्रति लगाईने आरोपमा साना तथा ठूला सबै मिडियाहरु पर्दै गएको उनको धारणा छ ।
‘झण्डै अढाइ बर्षदेखि यसरी यस्ता दर्जनौं ‘स्क्याण्डल’हरू श्रृजना गरिएका छन् । तथ्यले भन्छ–यस्तो ‘अभियान’मा मूलधारमा रहेका उही/उही व्यवसायिक सञ्चार माध्यम ‘दुरुपयोग’ भएका देखिन्छन् ।’ रिमालले भनेका छन् ।

डा. भट्टराईमाथि ‘रिसर्च अन नेपाल इन्डिया रिलेसन’ (नेपाल–भारत सम्बन्धको अनुसन्धान)का लागि चिनियाँ दूतावासबाट सन् २०१७ अक्टोबर १५ अर्थात् ०७४ असोज २९ गते १५ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

‘बाइल्याटरल् कर्पोरेशन प्रोजेक्ट प्रपोजल’ नामक परियोजना खडा गरी नेपाल–भारत सम्बन्धमाथि प्रतिवेदन बनाएर ‘बिक्री’ गरी भट्टराईले चीनसँग १५ लाख रुपैयाँ लिएको आरोप छ ।

यता भट्टराईले आफूलाई लगाइएको आरोप सिर्फ आरोप मात्रै भएको उल्लेख गरेका छन् । तीन दिन अगाडि भट्टराईले भारतीय पत्रिकाहरुले छापेका समाचारलाई आधार बनाएर नेपाली सञ्चारमाध्यमहरुसमेत आफूविरुद्ध लागेको टिप्पणी गरिसेकका छन् ।
हेर्नुहोस् विष्णु रिमालको भनाई

अचेल नियमित जस्तै यस्तो हुने गरेको छ–
पहिलो कदम–
सार्वजनिक पदमा रहेका आफÞना प्रतिस्पर्धीको ‘चरित्र–शिकार’ गर्न ’शिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी–अनलाईन’ मार्फत चरित्र–हत्या गर्न रचिएको कथा सार्वजनिक गरिन्छ ।
दोश्रो कदम–
त्यही ‘कथा’लाई, त्यस्तै ‘पानी–अनलाईन’ले केही घण्टा भित्र साभार गरी पुनः प्रकाशन गर्छ ।
तेश्रो कदम–
‘फेक न्यूज’को ‘होलसेलर’ले त्यस ‘कथा’लाई आफ्नाे ‘बिक्रेता समूह’ मार्फत फेसबुक, वा ट्वीटर या दुबै सामाजिक सञ्जाल मार्फत सम्प्रेषण गर्छ । तुरुन्तै, पहिलेदेखि नै तैनाथ ‘पेशेवर सञ्जाल–कर्मी’हरुको सक्रियता बढ्छ । पक्षमा, विपक्षमा या आश्चर्य व्यक्त गर्दै टिका–टिप्पणी शुरु हुन्छ । मेसेन्जर, ह्वाट्स एप, भाइवर आदिमा फैलाइन्छ ।
चौथो कदम–
एक/दुई दिन मैं ‘पानी–अनलाइन’को ‘फेक न्यूज’ भाइरल बनाइन्छ । सामाजिक सञ्जाल पर्याप्त प्रदुषित भएपछि ‘फेक न्यूज’को ‘सत्यता’ पुष्टिको अभियान शुरु हुन्छ । यसको लागि ‘लिडिङ्ग’ अनलाइन या प्रिण्ट मिडियामा प्रवेश गराइन्छ । यो बिन्दूमा आइपुगे पछि हाम्रो व्यवसायिक पत्रकारिता जुरमुराउँछ ।
पाँचौं कदम–
‘पानी–अनलाइन’ हुँदै मूलधारको मिडियामा प्रवेश गराइएको ‘फेक–न्यूज’ शुरुमा एउटा लिडिङ्ग अनलाइन वा प्रिण्ट मिडियामा समाचार बनाइन्छ । त्यसको सप्लिमेण्ट समाचार सोही स्तरको अर्को मिडियाले ‘आकर्षक’ कलेवरमा प्रसारण गर्छ । अनि शुरु हुन्छ अडियो/भिजुअल प्रचार–प्रसार ।
‘त्यसको, त्यस कार्यमा संलग्नता,
त्यो, त्यस कार्यमा संलग्न रहेको बलियो प्रमाण,
त्यस कार्यमा रहेको संलग्नतामा तपाईंको प्रतिक्रिया…. ….’
झण्डै अढाइ बर्षदेखि यसरी यस्ता दर्जनौं ‘स्क्याण्डल’हरू श्रृजना गरिएका छन् । तथ्यले भन्छ– यस्तो ‘अभियान’मा मूलधारमा रहेका उही÷उही व्यवसायिक सञ्चार माध्यम ‘दुरुपयोग’ भएका देखिन्छन् ।
‘शिकारी’हरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रृङ्खलाको पछिल्लो ‘टार्गेट’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई बनाइएको छ ।
सञ्चारकर्मी मित्रहरु,
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चार माध्यमको यसरी दुरुपयोग भएको देख्दा मलाई मात्रै हैन, वास्तबिक पत्रकारितामा जीवन बिताउनु भएका तपाईंहरुलाई पनि दुःख लागेको हुनुपर्छ । पेशागत ‘धर्म’का कारणले होला–तपाईहरु फोन गर्नुहुन्छ, प्रतिक्रिया माग्नु हुन्छ ।
तपाईहरु नै भन्नुहोसः
यस्तोमा के प्रतिक्रिया दिऊँ ? के कमेण्ट गरुँ ?
‘शिकारी’को पासोमा कोही किन परौं ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =